Skip to content
Shikhar Insurance
National Life

विद्युतिय गाडी प्रयोगमा युरोपियन देशहरुको एग्रेसिभ मुभ, ट्रम्प नीतिले चिनियाँ इभिलाई सजिलो

Hyundai
NCELL
NIMB

काठमाडौं । युरोपका अधिकांश देशहरूमा टेस्ला गाडीको बिक्रीमा गिरावट देखिएको बेला नर्वेमा भने यसको माग फेरि बढेको देखिएको छ । सोमबार सार्वजनिक भएको उद्योगसम्बन्धी तथ्याङ्कले यसबारे जानकारी दिएको हो ।

नर्वेली उपभोक्ताहरू टेस्लाप्रति पुनः आकर्षित भएका छन्, जसको मुख्य कारण कम्पनीले शून्य ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउनु र नयाँ मोडेल ‘वाई’ बजारमा ल्याउनु रहेको बताइएको छ । यो मोडेल पछिल्ला तीन महिनादेखि नर्वेमा सबैभन्दा धेरै बिक्री भएको गाडी बनेको छ । नर्वे विद्युतीय सवारी साधनको प्रयोगमा विश्वमै अगाडि रहेको देश हो । नर्वेली सडक महासङ्घ (ओएफभी) का अनुसार, मे महिनामा नर्वेमा दर्ता भएका नयाँ गाडीमध्ये ९३ दशमलव ९ प्रतिशत विद्युतीय थिए ।

यस वर्षको पहिलो पाँच महिनामा यो अनुपात ९२ दशमलव ७ प्रतिशत रहेको छ । मे महिनामा टेस्लाले नर्वेमा सबैभन्दा धेरै गाडी बिक्री गर्ने कम्पनीको उपाधि पुनः प्राप्त गरेको छ । सो महिनामा टेस्लाको बिक्री तीन गुणाले बढेर कुल नयाँ गाडीको १८ दशमलव २ प्रतिशत पुगेको हो । यद्यपि, वर्षको पहिलो पाँच महिनामा टेस्लाको कुल बिक्री ८ दशमलव ३ प्रतिशत मात्र बढेको छ, जुन समग्र गाडी बजारको ३० दशमलव ६ प्रतिशत वृद्धिको तुलनामा कम हो ।

सो अवधिमा टेस्लाको बजार हिस्सा १२ दशमलव ९ प्रतिशत रहेको छ, जसले यसलाई जर्मन कम्पनी भोल्क्सवागनपछि दोस्रो स्थानमा राखेको छ । युरोपेली सङ्घभित्र भने अप्रिल महिनामा टेस्लाको बिक्री आधा घटेको थियो । त्यहाँ टेस्लाको बजार हिस्सा घटेर एक दशमलव एक प्रतिशतमा झरेको देखिन्छ । यसको कारण चिनियाँ गाडी कम्पनीहरूको तीव्र प्रतिस्पर्धा र केही उपभोक्ताहरूले कम्पनीका मालिक इलन मस्कको राजनीतिक विचार तथा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्धप्रति असन्तुष्टि देखाउनु हो भनिएको छ ।

ओएफभीका निर्देशक ओइभिन्ड सोलबर्ग थोर्सेनले भने,“नर्वेमा टेस्लाको बिक्री अवस्थाले अन्य युरोपेली मुलुकहरूको तुलनामा फरक र विशेष स्थिति देखाउँछ, जहाँ यसको माग घट्दो क्रममा छ ।” प्रयोग गरिएको गाडी व्यवसायमा आवद्ध विश्लेषक जोनाथन पारले टेलिभिजन च्यानल दुईसँग भने,“ नर्वेली उपभोक्ताका लागि मूल्य सबैभन्दा महत्वपूर्ण कुरा हो ।” “धेरै नर्वेलीहरू इलन मस्कलाई मन नपराए पनि टेस्ला चढ्न कुनै हिचकिचाहट मान्दैन ।” यद्यपि, केही नर्वेली सञ्चारमाध्यमहरूले पछिल्ला महिनाहरूमा केही टेस्ला प्रयोगकर्ताहरूले आफ्नो गाडी बेच्न थालेको र भविष्यमा टेस्ला नकिन्ने निर्णय लिएको समाचार प्रकाशित गरेका छन् ।

डेनमार्कमा नयाँ सवारीमध्ये ६१ प्रतिशत विद्युतबाट चल्ने

डेनमार्कमा सन् २०२५ को मे महिनामा बिक्री भएका नयाँ सवारीमध्ये ६१ प्रतिशत विद्युतबाट चल्ने सवारी रहेका छन्। यो तथ्यांकले हरित यातायातप्रतिको जनचासो बलियो रहेको देखाएको छ, यद्यपि आगामी कर प्रणालीबारे अनिश्चितता रहेको जनाइएको छ। ‘मोबिलिटी डेनमार्क’ नामक यातायात सम्बन्धी संस्थाले आइतबार सार्वजनिक गरेको विवरणअनुसार, मे महिनामा डेनमार्कमा १७ हजार ९५३ वटा नयाँ यात्रुवाहक सवारी दर्ता गरिए, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा २३.३ प्रतिशतले बढी हो। तीमध्ये ६१ प्रतिशत सवारीहरू विद्युतबाट सञ्चालन हुने रहेका थिए। निजी खरिदकर्ताहरूमा विद्युत सवारीको अनुपात अझै उच्च रहेको बताइएको छ।

संस्थाका प्रमुख म्याड्स रोर्विगले भने, “जनतामा नयाँ प्रविधिप्रतिको रुचि, विशेषगरी हरित प्रविधिप्रति आकर्षण रहेको देखिएको छ। तर आगामी समयको कर व्यवस्था कस्तो हुने भन्ने स्पष्ट नभएकाले ग्राहकहरू निर्णय लिन हिचकिचाइरहेका छन्।”

हालको बिक्री वृद्धि मुख्यतया अघिल्लो महिनाहरूमा गरिएको अर्डरको परिणाम रहेको जनाइएको छ। अहिले करसम्बन्धी अन्योलले ग्राहकहरूलाई सवारी खरिदमा रोकिरहेको बताइएको छ। यसैबीच, डेनमार्कको कर मन्त्रालयले हालै घोषणा गरेको छ कि सन् २०२५ को अन्त्यसम्म सवारी कर नबढाइनेछ र ग्रीष्म अवकाशअघि राजनीतिक दलहरूसँग छलफल गरिनेछ। यस घोषणाले बजारमा केही स्थिरता ल्याउने अपेक्षा गरिएको छ। मे महिनामा सबैभन्दा धेरै बिक्री भएको सवारी स्कोडा एलरोक हो, जसको १ हजार ४५७ वटा बिक्री भएको थियो।

अन्य लोकप्रिय मोडेलहरूमा भोल्क्सवागन आईडी. ४, टेस्ला मोडल वाइ, र भोल्क्सवागन टी-रोक रहेका छन्। डेनमार्कको अहिलेको सवारी कर प्रणालीले शून्य प्रदूषण गर्ने सवारीहरूलाई विशेष छुट दिएको छ। यस्तो सवारी सन् २०२५ भित्र दर्ता गरिएमा निर्धारण गरिएको करमध्ये केवल ४० प्रतिशत मात्र तिर्नुपर्ने व्यवस्था छ।

यो छुट क्रमशः घट्दै सन् २०३५ मा पूरै कर लाग्ने व्यवस्था गरिएको छ। त्यस्तै, शून्य प्रदूषण गर्ने सवारीमा कर गणनाका क्रममा १ लाख ६५ हजार डेनिस मुद्रा बराबरको छुट पनि दिइन्छ। विशेषज्ञहरूका अनुसार डेनमार्कको कर नीतिले पछिल्ला वर्षहरूमा विद्युत सवारीप्रति आम नागरिकलाई आकर्षित गराउन ठूलो भूमिका खेलेको छ। आगामी कर नीतिमा गरिने परिवर्तनहरूले आम उपभोक्ता र सवारी उत्पादक दुवैका लागि गहिरो प्रभाव पार्ने अनुमान गरिएको छ। यसैगरी, युरोपका अन्य देशहरुले पनि इभी प्रयोगलाई प्राथमिकता दिइरहेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्