काठमाडौं । चालु वर्षको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण पेश गर्दै चालु वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको हो ।
प्रदेशगत रूपमा मधेस प्रदेश, कोसी प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशत भन्दा माथि रहेको छ। चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार रु.६१ खर्ब ७ अर्ब पुग्ने अनुमान छ।
यस अवधिमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान छ। प्रति व्यक्ति कुल राष्ट्रिय आय बढेर १,५१७ अमेरिकी डलर पुगेको छ। औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको छ।
चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय खर्च ४.७ प्रतिशत र सङ्घीय राजस्व १२.६ प्रतिशतले बढेको छ। वैदेशिक सहायता प्रतिबद्धता उल्लेख्यरूपमा बढेको छ। यस अवधिमा सङ्घीय सरकारको वित्त घाटा रु.१६ अर्ब १९ करोड रहेको छ। गत आर्थिक वर्षको यसै अवधिमा यस्तो घाटा रु.७० अर्ब ३६ करोड रहेको थियो।
२०८१ फागुनसम्म सङ्घीय सरकारको तिर्न बाँकी सार्वजनिक ऋण रू.२६ खर्ब ७६ अर्ब ४ करोड पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३.८ प्रतिशत हो। वित्तीय पहुँच बढेको छ। सबै स्थानीय तहमा बैंङ्कको शाखा पुगेको छ। बैंङ्क तथा वित्तीय संस्थाका प्रति शाखाबाट औसत २,५२७ जनसङ्ख्यामा बैंकिङ्ग सेवा उपलब्ध भएको छ।
२०८१ फागुनमसान्तमा बैंङ्क तथा वित्तीय संस्थाको निक्षेप ९.५ प्रतिशत र बैंङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.७ प्रतिशतले बढेको छ। नेप्से सूचकाङ्क २०८१ फागुनमसान्तमा २७३६.४९ बिन्दु कायम भएको छ। जीवन बीमाको पहुँच ४४.१७ प्रतिशत जनसङ्ख्यामा पुगेको छ।
चालु आर्थिक वर्षको फागुनसम्म वस्तु निकासी ५७.२ प्रतिशत र वस्तु पैठारी ११.२ प्रतिशतले बढेको छ। विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेर रु.१० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ। चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेका छन्। विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च रही १४.३ महिनाको वस्तु तथा सेवाको पैठारी धान्न पर्याप्त रहेको छ। हालसम्म उद्योग विभाग र लगानी बोर्ड नेपालबाट रू.४७ खर्ब ६६ अर्ब बराबरको लगानी स्वीकृत भएको छ।
प्रतिक्रिया दिनुहोस्