Skip to content
Shikhar Insurance
National Life

दूधजन्य पदार्थको माग घट्दै गएपछि भण्डारणमा समस्या

Hyundai
NCELL
NIMB

बागमती । बजारको मागभन्दा उत्पादन बढी भएपछि हेटौँडा दूध वितरण आयोजना कार्यालयको भण्डारणमा समस्या भएको छ । कार्यालय प्रमुख अञ्जन अधिकारीका अनुसार मखन एक लाख ७५ हजार किलो भण्डारण गर्ने क्षमता रहेकामा अहिले एक लाख ७० हजार किलो भण्डारण भइसकेको छ । यस्तै पाउडर पाँच लाख किलो क्षमता रहेकामा हालसम्म चार लाख ५६ हजार किलो भण्डारण भइसकेको छ ।

अझै दैनिक उत्पादन बढ्दै गएकाले केही दिनभित्रै भण्डारण कक्ष भरिने भएकाले थप समस्या हुने उनको भनाइ छ । दूध तथा दूधजन्य पदार्थको बजारमा माग घट्दै गएपछि सो कार्यालयले सहुलियत पसल सञ्चालनमा ल्याएको छ । कार्यालयद्वारा उत्पादित दूध तथा दूधजन्य पदार्थको बजार खपत बढाउन र उपभोक्तालाई सहुलियत दरमा बिक्री वितरण गर्ने उद्देश्यले कार्यालय परिसरभित्रै सहुलियत पसल सञ्चालनमा ल्याइएको छ । ‘हामीले हेटौँडा औद्योगिक क्षेत्रका उद्योग, संस्था तथा संस्थानमा कार्यरत कर्मचारीका लागि सहुलियत पसल सञ्चालनमा ल्याएका छौँ’, प्रमुख अधिकारीले भने, ‘सहुलियत पसलबाट दूध तथा दूधजन्य पदार्थ खरिद गरे उपभोक्तालाई मूल्यमा रु एकदेखि रु ५० सम्म सहुलियत दिने गरेका छौँ ।’

प्रमुख अधिकारीका अनुसार कार्यालयले जिल्लास्थित सरकारी कार्यालयलाई पत्राचार गरी आफ्नो उत्पादन उपभोग गर्न आग्रह गरेको छ । बजारको मागभन्दा उत्पादन बढी भएकाले आयोजना कार्यालयको भण्डारण कक्षमा समस्या देखिएको हो । ‘सरकारको स्वामित्वको कार्यालय भएकाले हामीलाई किसानसँग दूध किन्नैपर्ने बाध्यता छ, तर त्यो अनुसारको बिक्री छैन्’, प्रमुख अधिकारीले भने ‘त्यसैले हामी किसानसँग दूध खरिद गरेर अहिले मखन र पाउडर बनाएर भण्डारण गरेर राखिरहेका छौँं ।’ दूध खरिद गरे अनुसारको बजारमा दुधजन्य समान बिक्री हुन नसक्दा किसानलाई दूधको मूल्य उपलब्ध गराउन समस्या भइरहेको उनको भनाइ छ ।

उत्पादित वस्तु समयमै बिक्री हुन नसक्दा किसानलाई सात करोड भूक्तानी गर्न नसकिएको कार्यालयले जनाएको छ । मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीका किसानबाट दूध खरिद गर्दै आएको उक्त कार्यालयले खरिदभन्दा बजारमा बिक्री कम भएपछि हालसम्म भण्डारण कक्षमा करिब १ अर्ब ५० करोड बराबरको दूधजन्य पदार्थ थन्किएको प्रमुख अधिकारीले जानकारी दिए ।

वि.सं २०३० वैशाखमा डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा स्थापना भएको उक्त आयोजनालाई अहिले दैनिक १५ हजार लिटर दूध खरिद गर्नुपर्ने बाध्यता छ । तर बजारमा अहिले बिक्री मुस्किलले तीन/चार हजार लिटर दूध मात्र बिक्री हुने गरेको प्रमुख अधिकारीले बताए ।

उत्पादित दूध, दही, पनिर, आइसक्रिम, पेडालगायत उपभोग्य वस्तु वीरगञ्ज, हेटौँडा, नारायणघाट र काठमाडौंमा थोक तथा खुद्रा पसलमा बिक्री हुने गरेको छ । औद्योगिक क्षेत्रअन्तर्गत ३८ रोपनी जग्गामा रहेको उक्त आयोजनाको दूध प्रशोधन क्षमता प्रतिघण्टा तीन हजार लिटर रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्