काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर जेठको अन्त्यसम्ममा पूरा हुने बताएका छन् । ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको स्थलगत निरीक्षणका क्रममा मन्त्री दाहालले बाँकी रहेका कामहरु चाँडोभन्दा चाँडो पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।
उनले प्राविधिक रुपमा समस्याहरु आउँदा निर्माण सम्पन्न हुन समय लागेपनि परिणाम सन्तोषजनक आएको बताउँदै असार १ गतेदेखि सवारी सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिए । २०७८ सालदेखि निर्माण सुरु भएपनि प्राविधिक समस्याका कारण आयोजना समयमै सम्पन्न हुन नसकेको उनको भनाई थियो ।
निरीक्षणकै क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री दाहालले मनसुन सुरुभएसँगै मुख्य राजमार्गहरुमा आउने समस्या समाधानका लागि पूर्व तयारीका कामहरु भइरहेकोसमेत जानकारी दिए । उनले विपद् न्यूनीकरणका लागि स्थानीयबासी र सवारी चालकलाई सतर्क गराउनेलगायत उपलब्ध स्रोत साधनलाई स्ट्याण्डवाई राखेर समस्या आएलगत्तै समाधान गर्नेगरि तयारी अवस्थामा राखेको जानकारी दिए ।
उनले भने, ‘यो २०७८ देखि ठेक्का लागेर सुरु भएको काम हो । यसको म्याद सकिएको धेरै भैसकेको छ । यसको अन्तिम म्याद भनेको गत पुष ८ गतेसम्म थियो त्यतिखेर पनि सम्पन्न हुनसकेन । यो हाम्रो नेपालको पहिलो इपीसी मोडलबाट गरिएको काम हो । यसका प्राविधिक समस्यापनि नयाँ नै हुन् । त्यसकारण प्राविधिक रुपमा केही ल्याकेजहरु रहेको हुनुपर्छ र बीचमा आएका समस्या समाधानका कारण केही पर्खनु पर्यो । फेरि हामीले माथि उठीसकेको कामलाई पुन: तलैबाट सुरु गर्नुपर्ने अवस्थाका कारण ढिलो भयो । तरपनि ढिलै भएपनि परिणाम राम्रै आएको छ । यो जेठको अन्तिम सम्ममा सम्पन्न गरेर असार १ गतेदेखि सवारी सञ्चालन गर्ने तयारीमा छौं । मनसुन हुँदा राजमार्गहरुमा समस्या त छन् । दाउन्नेमा हामीले कटिङको काम गर्नुपर्ने अवस्थाका कारण ढिलो भएको हो ।’
उनले विभिन्न राजमार्गहरुमा निर्माणकार्य जारी नै रहेकाले सम्बन्धित निर्माण कम्पनीलाई पूर्व तयारी अवस्थामा बस्न आग्रह गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्