काभ्रेपलाञ्चोक । ऐतिहासिक नगर काभ्रेपलाञ्चोकको पनौतीस्थित सङ्ग्रहालयमा विदेशी अवलोकनकर्ताको आगमन बढ्दै गएको छ । करिब १५ वर्षअघि धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्त्व झल्काउने सामग्री एवं पहिचान भण्डारका रूपमा स्थापित सङ्ग्रहालयमा पछिल्लो समय विदेशी अवलोकनकर्ताको आगमन बढ्दै गएको हो ।
पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिर परिसरमा स्थापित यो सङ्ग्रहालय जिल्लाकै पहिलो र एक मात्र सङ्ग्रहालय हो । विगत एक वर्षमा तीन हजार ५०० विदेशी अवलोकर्ताले सङ्ग्रहालयको अवलोकन गरेका जनाइएको छ । करिब चार हजार ५०० अवलोकनकर्तामध्ये तीन हजार ५०० विदेशी रहेका सङ्ग्रहालयका प्रमुख राजेन्द्र महाजुले जानकारी दिए । उनका अनुसार पुराना सिक्का, कागजी नोट, स्थानीय रूपमा प्रयोग भएका घरायसीवस्तु पनि सङ्ग्रहालयमा राखिएका छन् ।
वि.सं २०६७ मा पनौती नगर कार्यालयले सञ्चालनमा ल्याएको यस सङ्ग्रहालयमा जिल्ला तथा विशेषगरी पनौतीका पुराना र ऐतिहासिक वस्तुको संरक्षण गरिएको महाजुले बताए । ‘सङ्ग्रहालयमा पनौतीको विकास, यहाँका पुराना गतिविधि, मठमन्दिरलगायत उपलब्ध शिलालेखको अवलोकन गर्न पाइन्छ । स्थानीयको सक्रियतामा नगर कार्यालयसँग सहकार्य गरी सञ्चालनमा ल्याइएको सङ्ग्रहालयमा मल्लकालीन, शाहकालीन समयका मूर्ति, काष्ठकलाका नमूना, विभिन्न पहिरन तथा पुराना हातहतियार राखिएका छन्’, उनले भने ।
धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्य एवं पवित्र धार्मिकस्थल भएकाले यहाँको महत्त्व बढ्दै गएको प्रमुख महाजुले बताए । यहाँ स्मारक समिति बनाएर सङ्ग्रहालय सञ्चालनमा ल्याइएको थियो । सङ्ग्रहालयमा हस्तकलाका सामग्री पनि राखिएका छन् । इन्द्रेश्वर मन्दिर परिसरमा रहेकाले यहाँ आउने अधिकांश आन्तरिक तथा बाहिरी पर्यटकले सङ्ग्रहालयको अवलोकन गर्छन् ।
महाजुका अनुसार विदेशी पर्यटकको आगमन गत वर्ष मात्र नभई केही वर्षदेखि बढ्दै गएको हो । पुरातत्व विभागको मापदण्डअनुसार सञ्चालित सङ्ग्रहालयमा पुराना सामग्री भए प्रदर्शनका लागि स्थानीयलाई उपलब्ध गराउन नगर कार्यालयले आग्रह गर्दै आएको छ । धार्मिक एवं ऐतिहासिक नगरी पनौतीस्थित त्रिवेणीघाट र स्नान गर्ने ठाउँको पनि आ–आफ्नै महत्त्व रहँदै आएको छ । पनौतीलाई विश्वसम्पदामा सूचीकृत गराउन नगर कार्यालयले पहल गरिरहेको छ ।
‘यसको महत्त्व बुझेका सबैजसो पर्यटक यहाँ आउँछन्’, महाजुले भने । उनका अनुसार विभिन्न स्थानबाट सङ्ग्रहालयमा अवलोकन गर्न बर्सेनि सयौँको सङ्ख्यामा विद्यार्थी आउने गर्छन् । सङ्ग्रहालयमा अवलोकनका लागि विदेशी, स्वदेशी पर्यटक र विद्यार्थीलाई फरकफरक शुल्क तोकिएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्