काठमाडौं । चालु वर्षको १० महिनामा विद्युतिय गाडी आयातमा उल्लेखनिय वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/०८२ को १० महिनामा ९ हजार ८ सय ५० वटा इलेक्ट्रीक कार, जिप र भ्यान (इभी गाडी) नेपाल आयात भएको हो ।
जुन अघिल्लो आव २०८०/०८१ को १० महिनाको तुलनामा १५.९२ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा यस्तो आयात ८ हजार ४ सय ९७ वटा भएको थियो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको बैशाख महिनामासम्ममा ५० किलोवाटसम्मका इभी गाडी ३ हजार ३ सय ६९ वटा भित्रिएका छन् । त्यस्तै, १० महिनामा ५१ किलोवाटदेखि १०० किलोवाट सम्मका इभी ५ हजार ५ सय ३४ वटा नेपाल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
त्यस्तै, १०१ किलोवाटदेखि २०० किलोवाट सम्मका इभी ९ सय २७ वटा नेपाल भित्रिएका छन् भने २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका मोटर पिक पावर १८ वटा र ३०० किलोवाटभन्दा माथिका मोटर पिक पावर २ वटा इभी नेपाल भित्रिएका छन् ।
यी इभी गाडीहरु खरिद गर्नका लागि नेपाली व्यवसायीहरुले बैशाख महिनासम्ममा २३ अर्ब ९ करोड ९३ लाख २२ हजार रुपैयाँ विभिन्न देशमा खर्चेका छन् भने ती इभी गाडी आयातमार्फत नेपाल सरकारले १० महिनामा १४ अर्ब २४ करोड ७९ लाख ७८ हजार रुपैयाँ राजस्व उठाएको छ ।
कुन देशबाट कति भयो आयात ?
नेपालमा इभी प्रयोगकर्ता बढेसँगै आयात पनि निरन्तर बढिरहेको छ । इभी गाडीको विशेषता र बढ्दो नयाँ प्रविधिले पनि इभी आयात बढदै गएको हो ।
विभागले सार्वजनिक गरेको १० महिनाको तथ्यांकअनुसार इभी गाडीको आयात सबैभन्दा बढी चीनबाट भइरहेको छ । बैशाख महिनासम्ममा चीनबाट मात्रै ७ हजार ३ सय ४४ वटा इभी नेपाल आयात भएको छ, जस्मा १०१ देखि २०० किलोवाटसम्मका इभी ८ सय ३४ वटा, ५१ देखि १०० किलोेवाटसम्ममा ४ हजार ५ सय ९७ वटा, ५० किलोवाटका १ हजार ९ सय वटा, २०१ देखि ३०० किलोवाटसम्मका ११ वटा र ३०० किलोवाटभन्दा माथिका इभी २ वटा रहेका छन् ।
त्यसैगरी, सबैभन्दा धेरै इभी आयात गर्ने देशहरुमा भारत दोस्रो नम्बरमा रहेको छ । नेपालले चीनपछिको सबैभन्दा धेरै आयात छिमेकी देश भारतबाट गर्दै आएको छ । १० महिनामा भारतबाट २ हजार ४ सय ११ वटा इभी नेपाल भित्रिएका छन् ।
त्यसैगरी, जर्मनीबाट ३२ वटा, दक्षिण कोरिया (कोरिया रिपब्लिक) बाट ४ वटा, संयुक्त राज्य अमेरिका (युएस) बाट ६ वटा, मलेसियाबाट ५० वटा र इन्डोनेसियाबाट ३ वटा इभी नेपाल भित्रिएको तथ्यांकले देखाएको छ ।
कुन वर्षमा कतिले बढ्यो इभी आयात ?
गत आव अर्थात् २०८०/०८१ को १० महिनामा इभी आयात ८ हजार ४ सय ९७ वटा भएको थियाे । गत आवको १० महिनमा नेपाली अटोव्यवसायीहरुले यस्तो इभी गाडी खरिदका लागि २१ अर्ब ८ करोड ८० लाख ३९ हजार रुपैयाँ विभिन्न देशमा खर्च गरेका थिए । ती इभी गाडी आयातमार्फत् नेपाल सरकारले १० महिनामा ९ अर्ब ३६ करोड ४४ लाख ४३ हजार रुपैयाँ राजस्व उठाएको थियो ।
त्यसैगरी, आव २०७९/८० को बैशाख महिनासम्ममा नेपालले ५ देशहरुबाट जम्मा २ हजार ९ सय ५५ वटा इभी मात्र आयात गरेको थियो । सो इभी खरिदका लागि नेपाली व्यवसायीहरुले ८ अर्ब ४१ करोड ६४ लाख ११ हजार रुपैयाँ विभिन्न मुलुकमा खर्च गरेका थिए भने सो मार्फत नेपालले २ अर्ब ३० करोड ८८ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
त्यस्तै, गत आव २०७८/७९ को बैशाख महिनासम्ममा १ हजार ५ सय ५१ वटा इभी नेपाल भित्रिएको थियो, जसबाट नेपाल सरकारले १ अर्ब २२ करोड ४८ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो भने ती इभी खरिदका लागि नेपाली व्यवसायीहरुले १० महिनामा ४ अर्ब ५२ करोड ६८ लाख ३ हजार रुपैयाँ खर्च गरेका थिए ।
त्यसैगरी, आव २०७७/७८ को १० महिनामा जम्मा १ सय ५३ वटामा इभी गाडी नेपाल भित्रिएका थिए, जसका लागि नेपालले ३२ करोड ९५ लाख ९१ हजार रुपैयाँ खर्च गरेको थियो भने सरकारले २४ करोड ७५ लाख ९८ हजार रुपैयाँ राजस्व कमाएको थियो ।
अघिल्लो ४ वर्षको तुलनामा नेपालमा हुने इभी आयात ह्वात्तै बढेको देखिन्छ । आव २०७७/७८ को तुलनामा हेर्ने हो भने चालु आवको १० महिनासम्म आइपुग्दा इभी आयातको संख्या ६३३७.९० प्रतिशतले बढेको छ ।
कर र शुल्कमा छुट, सस्तो र सफा ऊर्जा स्रोत, वित्तीय पहुँच र प्रदूषण नियन्त्रण लगायतका विभिन्न विशेषताहरुका कारण व्यवसायीहरुको आकर्षण इभी गाडी तर्फ बढ्दै भएको हो ।
५० देखि १०० किलोवाटसम्मका इभीमा १५ प्रतिशत भन्सार महसुल, १० प्रतिशत अन्त: शुल्क र मूल्य अभिवृद्धि, १०० देखि २०० किलोवाटका भइीमा २० प्रतिशत भन्सार महसुल, २० प्रतिशत अन्त: शुल्क र मूल्य अभिवृद्धि कर तिर्नुपर्ने सरकारको सरल, सहज र सस्तो करका कारणले पनि इभी आयात बढ्दै गएको व्यवसायीहरु बताउँछन् ।
तर पछिल्लो समय भने इभी गाडीको डाउनपेमेन्ट २० प्रतिशतबाट बढाएर ४० प्रतिशत पुर्याएको थियो ।
प्रतिक्रिया दिनुहोस्