काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को बैशाख महिनामा घरजग्गा कारोबार वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा घरजग्गाको कारोबार, कित्ताकाट र त्यसबाट संकलन हुने राजस्वमा समेत वृद्धि भएको हो ।
चालु आवको १० महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब ५४ करोड २२ लाख ९६ हजार ६ सय ३७ रुपैयाँ राजस्व सङ्कलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आवको सोही अवधिको तुलनामा राजस्व संकलन १७.५५ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा ३ अर्ब ८६ करोड ३८ लाख १६ हजार २ सय ६६ रुपैयाँ राजस्व संकलन भएको थियो ।
विभागका अनुसार सेवा करबाट ३२ करोड ७२ लाख ५७ हजार, रजिष्ट्रेशन दस्तुरबाट २ अर्ब ४५ करोड ६६ लाख २४ हजार र पुँजीगत लाभकरबाट १ अर्ब ७१ करोड ४३ लाख ४१ हजार सङ्कलन भएको छ ।
त्यसैगरी, सबैभन्दा धेरै राजस्व संकलन गर्नेमा मालपोत कार्यालय लगनखेल, ललितपुर रहेको छ । कार्यालयले १० महिनामा ३८ करोड ८३ लाख ५७ हजार ४३२ रुपैयाँ राजस्व संकलन गरेको छ ।
त्यसैगरी, सबैभन्दा धेरै राजस्व संकलन गर्ने दोस्रो नम्बरमा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं रहेकोछ । कार्यालयले १० महिनामा ३५ करोड १७ लाख ७१ हजार ५४९ रुपैयाँ संकलन गरेको छ । भने तेस्रो नम्बरमा चावहिल, काठमाडौं रहेको छ, जस्ले १० महिनामा २८ करोड ८३ लाख ५९ हजार ४६८ रुपैयाँ राजस्व संकलन गरेको छ ।
त्यस्तै, मालपोत कार्यालय कलङ्की, काठमाडौंले २८ करोड ९ लाख ६४ हजार रुपैयाँ, मालपोत कार्यालय भक्तपुरले २७ करोड २९ लाख ८८ हजार रुपैयाँ, मालपोत कार्यालय कास्कीले १८ करोड ७९ लाख ५१ हजार रुपैयाँ र मालपोत कार्यालय चितवनले १३ करोड ९१ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
बैशाख महिनामा देशैभरीका मालपोत कार्यालयहरुबाट ५२ हजार ४ सय २३ वटा जग्गाको लिखत पारित गरेको छ । मालपोत कार्यलयहरुले गत आवको सोही अवधिमा देशभर ४९ हजार ७ सय ८२ वटा लिखत पारित गरेको थियो । गत आवको सोही अवधिको तुलनामा यस वर्ष लिखत पारित ५.३० प्रतिशतले बढेको हो ।
बैशाख महिनामा सबैभन्दा धेरै लिखत पारित गर्नेको पहिलो नम्बरमा इनरुवा, सुनसरी रहेको छ । इनरुवाले २ हजार ३५ वटा जग्गा लिखत पारित गरेको छ ।
त्यसैगरी, दोस्रो स्थानमा जनकपुरधाम, धनुषा रहेको छ, जस्ले १ हजार ७ सय ६० वटा जग्गा लिखत पारित गरेको छ । त्यस्तै, भद्रपुर, झापाले १ हजार ७ सय ११ वटा, बेलवारी मोरङले १ हजार ७ सय १ वटा र राजविराज, सप्तरीले १ हजार ५ सय १६ वटा लिखत पारित गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्