काठमाडौं । जेठ १४ गते अघि मात्रै ५ हजार बढी विद्युतिय गाडी भित्रिने भएका छन् । आर्थिक ऐन २०८२ ले कर बढाउन सक्ने भन्दै ठूलो संख्यामा व्यापारीहरुले गाडी भित्र्याउन लागेका हुन् ।
विद्युतिय गाडी र पेट्रोलियम गाडीमा अहिले भन्सार शुल्क निक्कै फरक रहेको छ । पेट्रोलियम गाडीको तुलनामा इभि गाडी निक्कै कम भन्सार महशुल तोकिएको छ । अर्थ मन्त्रालयले इभी गाडीमा भन्सार वृद्धि गर्ने लगभग पक्का भएपछि व्यावसायीहरुले धमाधम प्रतित पत्र (एलसी) खोलेर गाडी आयात गरिरहेका छन् ।
भन्सार विभागका अनुसार जेठ महिनाको १४ दिनमै ५ हजार बढि इभी गाडी भित्रिने अनुमान छन् । यो वार्षिक गाडी आयातको ४० प्रतिशत हुन आउँछ । नेपाली बजारमा वार्षिक १२ हजार हाराहरीमा नयाँ गाडी बिक्री हुने अनुमान छ । चिनियाँ गाडी ‘बिल्ड योर ड्रीम’ बिवाइडी बिक्री गर्ने साइमेक्स इंकले सबैभन्दा धेरै गाडी स्टक गर्न लागेको छ । कम्पनी स्रोतका अनुसार कमपनीले गत वर्षको बजेट अघि ८ सय देखी १२ सय वटासम्म इभी गाडी स्टक गरेको थियो । यो पटक पनि ८ सय देखी १२ सय वटा सम्म गाडी स्टक गर्ने योजना बनाएको छ । यसैगरी इभी गाडीमा विस्तारै प्रवेश गरिरहेको लक्ष्मी हुन्डाईले पनि बजेट अघि ३ सय देखी ५ सय इभी गाडी स्टक गर्ने योजना बनाएको छ ।
चिनियाँ विद्युतिय गाडी बिक्री गर्ने एमए डब्लु वृद्धिले पनि ३ सय देखि ५ सय वटा गाडी स्टक गर्ने तयारी गरेको छ । यसैगरी, एमजी गाडी बिक्री गर्ने पारामाउन्ट मोटर प्रालीले पनि ३ सय देखी ६ सय गाडी स्टक गरिसकेको छ । शारादा ग्रुपले भित्र्याउने चेरी ब्राण्डको ओमोडा गाडी पनि ३ सय देखी ५ सयसम्म स्टक राख्ने कम्पनीको योजना छ । अन्य ब्राण्डहरुले पनि गाडी क्षमता अनुसार गाडी स्टक गरिरहेका छन् ।
अहिले तातोपानी भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयको भन्सार र्याड पुर्ण रुपमा भरिएका छन् । तातोपानी भन्सार कार्यालयमा मात्रै करिब ७ सय माथी गाडी र्याडमा थुप्रिएका छन् । सोमबार मात्रै २५ करोड राजस्व संकलन भएको कार्यालयले जनाएको छ । यो कार्यालयको दैनिक साढे ६ करोड लक्ष्य छ । लक्ष्य भन्दा ५ गुणा बढि कर संकलन भैरहेको छ । इभी गाडीमा किलोवाट कम देखाई भन्सार छलि भएको भन्दै महालेखा परिक्षकको कार्यालयले बेरुजू लेखेको छ । आर्थिक वर्ष २०८०/०८१मा मात्रै तातोपानी भन्सार र रसुवा भन्सार कार्यालयबाट मात्रै ३ अर्ब ७२ करोड बराबरको भन्सार छलि भएको भन्दै महालेखाले बेरुजू लेखेको छ ।
प्रतिक्रिया दिनुहोस्