काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना र नेपाल बीमा प्राधिकरणको सहकार्यमा बीमा सचेतना कार्यक्रम सुरु भएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका –१ मा शनिबारदेखि सुरु भएको यो कार्यक्रम आइतबारसम्म हुनेछ ।
कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमालाई अझै सर्वसाधारणमा लगेर लोकप्रिय बनाउनु पर्ने बताए । नेपालमा बीमाको पहुँच वृद्धि गर्न आर्थिक पत्रकारहरूको पनि महत्त्वपूर्ण योगदान रहेको बताउँदै उनले आगामी दिनमा पनि पत्रकारिता क्षेत्रले बीमा क्षेत्रको विकासका लागि सहयोग गर्नुपर्ने बताए ।
‘पत्रकारिता थिएन भने बीमा क्षेत्र यो उचाइमा आउने थिएन । तसर्थ, प्राधिकरणले आगामी दिनमा पनि सहकार्य गरेर यस्ता कार्यक्रम गरिरहने प्रतिबद्ध छ । यो गहन र गम्भीर क्षेत्र पनि हो,’ उनले भने, ‘पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि के–के गर्न सक्छौं, त्यो गर्छौ ।’
यसैगरी पत्रकारले बिचारमा भन्दा तथ्यमा केन्द्रित भएर समाचार बनाउनुपर्ने उनको भनाइ छ । ‘तथ्य र बिचारको मिश्रणमा समाचार अपुरो जस्तो भएको छ । तथ्यमा खेलेर बिचारलाई मध्यनजर गर्दै समाचार प्रकाशन वा बनाउन सकेमा पत्रकारिताको पनि क्षमता त्यहाँबाट झल्किन्छ,’ उनले बताए ।
नाफिजकी अध्यक्ष मेनुका कार्कीले बीमा पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न लागि यस्ता कार्यक्रम निकै महत्त्वपूर्ण रहेको बताइन् । अहिले आर्थिक पत्रकारितामा बीमा बिट अभिन्न अंशको रूपमा स्थापित भइसकेको उनको भनाइ छ ।
‘पहिला पत्रकारितामा बीमा बिट नै थिएन । हालसम्म आउँदा बीमा बिट स्थापित भइसकेको छ । बीमा क्षेत्रको समाचार जति लेखे पनि पुग्दैन । आर्थिक पत्रकारहरूको भविष्यका लागि पनि यो बिट निकै यो सहयोगी बनेको छ,’ उनले भनिन्, ‘यस्ता कार्यक्रमले बीमा पत्रकारको क्षमता अभिवृद्धि गर्ने साथै लेख्ने र खोज्ने दायरा बढेको महसुस गरेको छु ।’
यस्तै, उनले बीमा क्षेत्र अर्थतन्त्रको अभिन्न अङ्ग बनेको बताइन् । ‘हाल नेपालमा बीमाको पहुँच ४४।६७ प्रतिशत विन्दुमा पुगेको छ । अब बाँकी नागरिकमा पनि बीमा पहुँच विस्तार गर्न यस सम्बन्धी थप जनचेतना फैलाउन आवश्यक छ,’ उनले बताइन् ।
प्राधिकरणका निर्देशक निर्मल अधिकारले बीमाको पहुँच बढाउन सञ्चार माध्यमको भूमिका अहम भएको बताए । तसर्थ, प्राधिकरणले पत्रकारसँग यस्ता कार्यक्रम नियमित रूपमा गरिरहेको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उनको भनाइ छ ।
‘बीमा क्षेत्रलाई व्यवस्थित बनाउन हाम्रो तर्फबाट काम पनि गरिरहेका छौं । तर, बीमा क्षेत्रलाई अझै व्यवस्थित बनाउँदै आम नागरिकलाई यसबारे थप बुझाउन आवश्यक छ । यसमा सञ्चार माध्यमको सहयोगको आवश्यक छ,’ उनले भने, ‘यति हुँदाहुँदै बीमा कम्पनीहरूले बीमा दाबी भुक्तानी समयमा नदिएको गुनासो बीमितहरुबाट आइराख्दा पत्रकारहरूले यसमा विषयमा तथ्य सत्य खोजेर बाहिर ल्याउन आवश्यक छ ।’
यस्तै, बीमा क्षेत्रका पूर्व व्यवस्थापक रमेश कुमार भट्टराईले यो कार्यक्रम पत्रकारहरूलागि उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।
‘बीमा प्राधिकरण थोत्रो घरबाट महलमा आएको छ । यसले बीमा क्षेत्रले फड्को मारिसकेको देखिन्छ । तर, बीमा क्षेत्रले बैङ्किङ क्षेत्रले जस्तो फड्को मार्न भने सकेको छैन,’ उनले भने, ‘तर, अवसर भने छ । प्राधिकरणमा युवा नेतृत्वकर्ता आएका छन् । यसले पक्कै सकारात्मक सन्देश आउने विश्वासमा बीमा क्षेत्र छ ।’
पछिल्लो समय बीमा कम्पनीहरूले आर्थिक रूपमा कमजोर भएका क्षेत्रमा लगानी गरिरहेको देखिएको पनि उनले बताए । यसमा कम्पनीहरू सचेत भई भावी दिनमा आउने सक्ने जोखिमलाई न्यूनीकरण गर्न लाग्नुपर्ने उनको भनाइ छ ।
यसैगरि जीवन बीमक संघ नेपालका अध्यक्ष पोषकराज पौडेलले बीमा विषय बढी प्राविधिक भएकाले पत्रकार पनि सोहीअनुरूप तयार हुनुपर्ने बताए । यो कार्यक्रमबाट पत्रकारले बीमाको प्राविधिक ज्ञान प्राप्त गर्न सक्ने उनको भनाइ छ ।
‘यसै पनि क्षमता अभिवृद्धिमा नेपाल पछाडि छ । बीमाको ज्ञानबाट पनि निकै पछि भएको अवस्थामा यो कार्यक्रमबाट पत्रकारले बीमाको थप विषयहरू सिकेर सर्वसाधारणहरूलाई पनि बुझाउनुहुन्छ भन्ने अपेक्षा लिएको छु,’ उनले बताए ।
साथै, नेपालमा आधुनिक बीमा प्रडक्ट आउन आवश्यक रहेको पनि उनले बताए । ‘बीमा जोखिमलाई हस्तान्तरण गर्ने माध्यम हो । जोखिम मात्र बहन हुने प्रडक्ट ल्याएर विश्व धेरै अघि बढी सक्यो । तर, हामी अझै बचतमा आधारित प्रडक्टमा सीमित छौ,’ उनले भने, ‘यद्यपि, अन्य देशको बीमा क्षेत्रको तुलनामा हामी पछि भने छैनौ ।’
यस्तै, नेपाल बीमक संघका अध्यक्ष बिरेन्द्र वैदवारले बीमा सम्बन्धी क्षेत्रीय र अन्तर्राष्ट्रिय समाचार पनि प्रकाशन हुन आवश्यक रहेको बताए ।
‘पहिला बीमा क्षेत्रमा कलम चलाएर काम गर्न सकिन्छ कि सकिँदैन भन्ने अवस्था थियो । त्यो चुनौतीका बाबजुद बीमा बिट आर्थिक प्रपत्रकारिताको अभिन्न अंश बन्न पुगेको छ,’ उनले भने, ‘तर, पत्रकारले बीमा सम्बन्धी समाचार विश्वसनीय बनाउन आवश्यक छ । पत्रकारले निडरताका साथ खण्डन गर्न नसक्ने खालका बीमाका समाचार लेख्यो भने कम्पनीलाई सुधार हुन अवसर प्रदान गर्छ ।’
यसैगरि प्राधिकरणले दाबी भुक्तानी सम्बन्धित विस्तृत विवरण सहितको तथ्यांक मासिक रूपमा वेबसाइट मार्फत सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्