काठमाडौं । नेकपा(एमाले)को आन्तरिक विवाद ‘न जुट्ने, न फुट्ने’ अवस्थामै छ । ओली समुह पटक पटक कारवाहीको नाटक गर्दै फुकुवा गरिरहेको छ भने नेपाल समुह पनि न एकता न फुटको अवस्थाबाट गुज्रिरहेको छ ।
यहि सन्दर्भमा नेपाल समुहको देश्रो पुस्ताका नेताहरुको मनोदशालाई लिएर विभिन्न अड्कलबाजी भैरहेका छन् । न उनीहरु एकताका लागि सार्थक पहल गर्न सकिरहेका छन्, न त विभाजनका लागि नै तयार भएको अवस्था छ । एमाले उपाध्यक्ष भिम रावल, उप महासचिव घनश्याम भुषाल, सचिवहरु गोकर्ण बिष्ट, भिम आचार्य, योगेश भट्टराई र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेहरुको भूमिकाले उनीहरुको राजनीतिक जीवनलाई नै संकट उन्मुख गराईरहेको छ ।
उनीहरु ओलीसँग निशर्त एकताका लागि पनि तयार देखिएका छैनन्, किन की त्यहाँ महेश बस्नेत र गोकुल बास्कोटाहरुको कार्यकर्ता बन्नु पर्ने जोखिम छ । अर्का तिर उनीहरु माधव नेपाललाई पनि विश्वासमा लिन सकिरहेका देखिन्नन् ।
ओली समुहमा पेलानमा परिने र नेपाल समुहमा लाग्दा पार्टी फुटेको अवस्थामा निर्वाचन जित्न मुस्किल पर्ने अड्कलमा परेपछि यी नेताहरु यतिबेला बिलखबन्दमा परेको सहजै बुझ्न सकिन्छ । उनीहरुलाई न त यतिबेला ओलीले पार्टीमा सहृदय स्वागत गरेर भूमिका दिने सम्भावना छ न त माधव नेपालले नै विश्वास गर्ने वातावरण बनिरहेको छ । न बिद्रोह, न पुनर्मिलनको सार्थक पहल गर्ने भूमिकाले उनीहरुलाई घर न घाटको बनाउने सम्भावना बढिरहेको छ ।
पार्टी एकता हुँदा वा विभाजन नै हुँदा पनि यी नेताहरु कता लाग्ने ? के गर्ने भन्ने अन्यौलमै देखिन्छन् । पार्टी एकता हुँदा पनि मुलतः माधव नेपाल–झलनाथ खनाल र केपी ओलीको सेन्टिमेन्ट मिल्ने हो । त्यतिबेला यी नेताहरु न ओलीका प्रिय हुन्छन् न त नेपाल–खनालका विश्वसनिय नै ।
कथंकदाचित पार्टी विभाजित भएमा पनि यी नेताहरु न त ओलीसँग निशर्त जान सक्ने अवस्था छ न त नयाँ पार्टीमा विश्वास र उर्जाका साथ लाग्ने अवस्था नै बनिरहेको छ । किन की हिजो ओली प्रतिगमनको बिरोधमा सबै भन्दा चर्का कुरा गर्ने यी नेताहरुको आजको व्यवहारले उनीहरुकै कार्यकर्तामा पनि विश्वास गुमिसकेको छ । उनीहरुका अधिकांश कार्यकर्ता आज पनि खनाल–नेपालसँगै छन् र बिद्रोहको लागि उक्साएर मैदान छाड्ने कमाण्डरका रुपमा उनीहरुलाई गाली गरिरहेका छन् ।
ओलीले कसरी उपयोग गरेर फ्याक्छन् भन्ने तथ्य यी नेताहरुले माओवादी छाडेर एमाले बनेका नेताहरुको हविगत हेरेरै बुझिसकेका छन् । त्यति मात्रै नभएर किसान श्रेष्ठ, प्रेम आलेहरुको अवस्थाले पनि उनीहरुलाई झस्काएको देखिन्छ । ओलीको पछि लाग्दा महन्थ ठाकुर र राजेन्द्र महतोहरुकै हालत के भयो ? प्रमाण साक्षी छन् ।
शनिबार राजधानीमा आयोजना गरिएको अखिल फोर्सको भेलामा उत्साहजनक सहभागीता देखियो जबकी त्यहाँ दोश्रो तहका कोहि पनि नेता थिएनन्, उच्च नेतृत्व तहबाट केलब माधव नेपाल मात्रै सहभागी भएका थिए ।
उनीहरुले यथास्थितिमा ओलीसँग मिल्दा आफ्नो राजनीतिक भविष्य देखेका छैनन् । तर माधव नेपालहरुको विश्वास जित्ने सवाल पनि अब कमजोर हुँदै गैरहेको छ । बरिष्ठ नेता नेपालले प्रष्टसँग भनिरहेका छन् कि–‘ओलीको दासत्व स्वीकार हुन्न, सच्चिन्छन् भने ठिक छ नत्र बाध्यात्मक विद्रोहको बाटो निश्चित छ ।’
बरिष्ठ नेता नेपालले आफु एक्लै भए पनि यो अडानमा कायमै रहने स्पष्ट पारिसकेका छन् । उनलाई तल्लो तहका कार्यकर्ताहरुको राम्रो साथ देखिन्छ । नेताहरुले टिम अदलबदल गरेपनि कार्यकर्ताहरुमा भने आफ्नो विचार र अडान प्रतिको निष्ठामा विचलन आएको छैन् ।
‘नेताहरु यताउता हुँदै गर्लान तर कार्यकर्ताहरुको अडान बलियो छ, साथ बलियो छ, पार्टी एकता अपरिहार्य सर्त हो, तर ढोका थुनेर बिरालोलाई कुट्न थालियो भने परिणाम प्रष्ट आउनेछ’, नेपाल निकट एक केन्द्रिय सदस्यले सिंहदरबारसँग भने । न जुटाउने सामर्थ्य राख्ने, न बिद्रोहका लागि तयार हुने ? यो उनीहरुको नेतृत्व क्षमताको प्रश्न पनि हो ।
केपी ओलीले ‘फुटाउ र अनि राज गर’को रणनीति अख्तियार गरेका छन् । उनी पार्टीमा आफुलाई टक्कर दिन सक्ने नेताको नहोस भन्ने चाहान्छन् । ओलीलाई टक्कर दिन सक्ने नेता माधव नेपाल मात्रै हुन्, त्यसकारण ओली माधव नेपाल बिनाको एमाले बनाउने अभियानमा छन् । नेपाल बिहिन पार्टी बनाउन सके आफ्नो हुकुमका विरुद्ध बोल्ने कोहि बाँकी नरहने ओलीको निष्कर्ष देखिन्छ । ओलीपछिका नेताहरु पनि ओलीका विरुद्ध चुईक्क बोल्ने हैसियत राख्दैनन् ।
ओलीले पार्टी चाहेका होइनन्, भजन मण्डली, भारदारी सभा चाहेका हुन्, जहाँ सबैले उनको जयजयकार गरुन् । उनको आदेश पालना मात्रै गरुन् ।
अब प्रश्न उठ्छ, ओली अत्याचारका विरुद्ध सबै भन्दा पहिले बिगुल फुकेका भिम रावल, घनश्याम भुषाल, भिम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराई र सुरेन्द्र पाण्डेहरु अब के गर्छन् ? उनीहरु ओली भजन मण्डलीको सदस्य बन्न तयार हुन्छन् ? के ओलीको भारदारी सभामा उनीहरुको अस्थित्व र भूमिका हुन्छ ?
ताजा इतिहास मात्रै हेर्ने हो भने पनि ओली राजबाट सबै भन्दा प्रताडित बनेका पनि त यीनै रावल, भुषाल, आचार्य, बिष्ट, भट्टाराई र पाण्डेहरु नै त हुन् ।
इतिहासको पेलान, ताजा वर्तमानका तमाम हर्कत बिर्सेर, आफैंले बिद्रोहका लागि तयार पारेको नयाँ पुस्तालाई चटक्कै छाडेर के यी सबै ओली भजन मण्डलीको सदस्य बन्छन् ? संसद बिघठनदेखि शासन सत्ताका बलमा ओलीले गरेका तमाम अपराधहरु पार्टी एकताका नाममा क्षम्य हुन्छन् ?
कुहिरोको काग झै रनभूल्लमा परेका दोश्रो पुस्ताका यी होनाहार नेताहरुसँग यी प्रश्नहरुको उत्तर नदिईरहने छुट छैन् ।
प्रतिक्रिया दिनुहोस्