काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल सान्दर्भिक नभएको बताएका छन् ।
प्रतिनिधि सभाको बिहिबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद पुनले तीन महिनाअघि नै छलफल गरेर त्यसबाट प्राप्त हुने योजना समावेश गरी बजेट बनाउनुपर्नेमा यस पटकपनि त्यसो हुन नसकेकोमा दु:ख व्यक्त गरे ।
अर्थमन्त्री यता सिद्धान्त र प्राथमिकतामा छलफल गराइरहनुभएको छ उता हरेक मन्त्रालयले आफ्ना योजना समावेश गरिसक्यो सांसद पुनको भनाई थियो ।
उनले आगामी बजेट जेनजी पुस्तालाई सम्बोधन र निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउनेगरी आउनुपर्नेमा जोड दिए । उनले सार्वजनिक वित्त प्रणालीमा, खर्च गर्ने तरिकामा, योजना छनोट गर्ने तरिका लगायतमा सुधार गर्न सुझाव दिए ।
उनले भने, ‘सत्ता पक्षका माननीयहरुलाई झन अप्ठ्यरो छ । प्रतिपक्षलाई पनि अप्ठ्यारै भैरहेको छ । सत्तापक्षका माननीयहरुलाई सत्तापक्ष हो कि प्रतिपक्ष हो छुट्याउन गाह्रो छ । अनि मन्त्रीले दिने जवाफ माननीयहरुले दिइरहनुभएको छ । अर्थ समितिमा हामीले योजना आयोग र अर्थमन्त्रालयलाई पनि बोलाएका थियौं । योजना आयोगले त्यतिखेरै चैत मसान्तसम्म मात्र कार्यक्रमहरु समावेश गर्न सकिन्छ भन्नुभएको थियो । अहिले हामी जेठ १ गते छलफल गर्दैछौं र यो हुन्छ होला भनेर अनुमान गर्दैछौं त्यसैले यो हुँदैन । चैत ३० गतेअघि योजना बैंकमा समावेश नगरिएका योजना हुँदैन त्यसले गर्दा यो छलफल कसरी सान्दर्भिक हुनसक्छ । साढे छ हजार योजना एक महिनाअघि बैंकमा आइसकेका छन् भन्नुभएको छ । तर, अहिले हामी कार्यक्रम समावेश भैसकेपछि सिद्धान्तका कुरा गर्दैछौं ।’
उनले नियामक निकायहरुमा समयमै नियुक्ति गरेर वित्तीय क्षेत्र सुधारका लागि प्रतिष्पर्धी बनाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्