काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति डा. स्वर्णिम वाग्लेले सेटिङमा रबर स्ट्याम्प गभर्नर नियुक्त हुने आरोप लगाएका छन् । प्रतिनिधी सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै डा. वाग्लेले माथि सेटिङ गरेर रबर स्ट्याम्प गभर्नर नियुक्ती हुने आरोप लगाएका हुन् ।
उनले संसदका दुई ठूला दल मिलेर बनेको दुई तिहाईवाला सरकारको हैसियत गभर्नर नियुक्तीमा उजागर भएको टिप्पणी पनि गरे ।
‘सानो एउटा राष्ट्र बैंकको गभर्नर नियुक्ती अल्झिराखेको छ दुई महिनादेखि । माथि सेटिङ गरेर अनि समिति बसाएर एउटा रबर स्ट्याम्पको नियुक्ती हुने होला, त्यसमा पनि गिजोलिराख्या छ ।’
उनले लामो समयदेखि सरकारमा बिचौलियाहरुको हालीमुहाली रहेको बिषय उठाउँदै आएका छन् । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्समा पनि उनले अर्थ समिति बैठकमा नोट अफ डिसेन्ट लेखेका थिए । त्यसपछि पनि बिचौलियाहरुको स्वार्थमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स ल्याउन लागिएको भन्दै उनले आलोचना गर्दै आएका छन् ।
गभर्नर नियुक्ती पनि बिचौलियाहरु हावी भएको भन्दै डा. वाग्लेले सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।
नेपाल राष्ट्र बैंक २०८१ चैत २४ गतेदेखि गभर्नर बिहिन छ । कामु गभर्नरका रुपमा डा. निलम ढुंगानाले काम गरिरहेकी छिन् ।
गभर्नर बन्न डा. ढुंगाना, डा. गुणाकर भट्ट, ज्ञानेन्द्र ढुंगाना, देव कुमार ढकाल, अशोक शेरचन, प्रकाश श्रेष्ठ, बम बहादुर मिश्र लगायत दौडमा छ । गभर्नर छान्न अर्थमन्त्री बिष्णु पौडेलको नेतृत्वमा डा. विश्व पौडेल र महाप्रसाद अधिकारी सदस्य रहेको सिफारिस समिति छ । यस अघि सिफारिस समितिमा रहेका बिजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई सदस्य बनाईएको हो ।
प्रतिक्रिया दिनुहोस्