काठमाडौं । विश्व बैंक समुहको इन्टरनेशन फाइनान्स कर्पाेरेशन(आईएफसी)ले नेपालका लागि नयाँ आवासिय प्रतिनिधी पठाएको छ । आईएफसीले श्रीलंकाली मूलकी अराण्डरालाई नेपालका लागि नयाँ आवासिय प्रतिनिधी बनाएर पठाएको हो ।
काठमाडौंमा केन्द्रित रहेर उनले नेपालमा आईएफसीको लगानी वृद्धि, लगानीका नयाँ अवसरहरुको सृजना र संस्थागत प्रभावकारीता अभिवृद्धिमा भूमिका खेल्नेछिन् ।
अराण्डाराले सन २०११ देखि आईएफसीमा काम गरिरहेकी छिन् । उनले दक्षिण अफ्रिकामा आर्थिक सल्लाहकारका रुपमा वित्तिय समावेशिकरण, कृषिमा लगानी अभिवृद्धि र लगानीको वातावरण निर्माणमा काम गरेकी थिइन् ।
उनले नेपालमा आईएफसीको विकास अभियानको अभिवृद्धि, नेपालमा लगानीको वातावरण निर्माण र लगानीको प्रतिफल अभिवृद्धि लगाएतका क्षेत्रमा भूमिका निर्वाह गर्नेछिन् ।
‘नेपालमा उपयोग गर्न नसकिएको व्यापक ठूलो अवसर छ, र सम्वद्ध निकायहरुसँग गहिरो सहकार्यद्धारा नेपालका उच्च सम्भाव्य क्षेत्रहरु जस्तो पूर्वाधार, डिजिटल सेवा, पर्यटन र वित्तिय क्षेत्रहरुमा काम गर्न आईएफसी प्रतिवद्ध छ ।’, अराण्डराले भनेकी छिन् ।
नेपालको दिगो र समावेशी विकासमा आफुले काम गर्ने उनको प्रतिवद्धता छ । ‘नेपालमा विश्व बैंकका घोषित उदेश्यहरुसँग मिल्ने गरि म नेपालको सार्वजनिक र निजी क्षेत्रसँग सहकार्य गर्दै दिगो र समावेशी वृद्धिको लागि काम गर्नेछु ।’ उनले अघि थपिन् ।
विश्व बैंकमा जोडिनु अघि अराण्डराले पीडब्लयुसी इण्डोनेशिया, ओराकल एजी स्वीजरल्याण्डमा मर्जर तथा एक्विजिशन वित्तिय क्षेत्रमा काम गरेकी थिइन् । श्रीलंकाको नेशनल डेभलपमेन्ट बैंकमा उनले इन्भेष्टमेन्ट अफिसरका रुपमा काम गरेकी थिइन् ।
पछिल्ला पाँच बर्षमा आईएफसीले ७०० मिलियन डलर लगानीको प्रतिवद्धता गरेको छ, जुन क्लिन इनर्जी, प्राइभेट इक्वीटी, वित्तिय र पर्यटन क्षेत्रमा केन्द्रित छन् ।
यी लगानीहरु साना तथा मझौला उद्यम, ग्रीन इनर्जी संक्रमण र वित्तिय तथा लैगिंक समावेशीकरण प्रवर्द्धनमा लक्षित छन् । आर्थिक बर्ष २०२४ मा आईएफसीका लागि पूर्वाधार, म्यानुफ्याक्चरिङ(उत्पादन), कृषि व्यापार र सेवा एंव वित्तिय संस्था समुहमा उल्लेख्य उपलब्धि हासिल गरेको छ । यी प्रत्येक क्षेत्रमा कम्तिमा एउटा ट्रान्सफरमेटिभ परियोजना अघि सारिएको छन्, जुन कम्तिमा पनि ८४ मिलियन डलरको रहेको छ ।
प्रतिक्रिया दिनुहोस्