काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले मुख्य समस्या आर्थिक नीतिमा रहेको बताएका छन् । प्रतिनिधि सभामा सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
उनले नीति तथा कार्यक्रमले नेपालको अवस्था, आवश्यकता, अवसर र चुनौतीहरूलाई वस्तुपरक ढङ्गले सम्बोधन गर्न नसकेको बताउँदै नीति तथा कार्यक्रम समस्याको केन्द्रमा पुग्नै नचाहेको आरोप लगाउँदै यसले समाधान निकाल्छ भन्नेमा विश्वस्त हुन नसकिने टिप्पणी गरे ।
पूर्वमन्त्री समेत रहेका बस्नेतले समस्या नीति, संस्थागत व्यवस्थापन, विकास मोडल, शैली र आचरणमध्ये कुनमा हो भनेर त्यसको निरूपण गर्नुपर्ने बताउँदै त्यसो हुन नसक्दा बुझाइमा विविधता देखिँदै आएको जिकिर गरे । उनले मुख्य समस्या आर्थिक नीति, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बुझ्नेकुरा र संवैधानिक व्यवस्था र हामीले अभ्यास गरिरहेको अर्थ राजनीतिको बिचको सामञ्जस्यता कायम राख्न नसक्नुमा रहेको स्पष्ट पारे ।
उनले भने, ‘नीति तथा कार्यक्रमले हाम्रो अवस्था, आवश्यकता, अवसर र चुनौतीहरूलाई वस्तुपरक ढङ्गले सम्बोधन गरेको जस्तो लाग्दैन । अझ भनौँ, समस्याको केन्द्रमा पुग्न सकेको छैन । पुग्न चाहेको पनि छैन । अब समाधानको के कुरा गर्नु ? हामीले निरूपण गर्नुपर्ने छ, समस्या हाम्रो नीतिमा हो कि, संस्थागत व्यवस्थापनमा हो कि, हाम्रो विकास मोडलमा हो कि, हाम्रो शैली र आचरणमा । यसो हुन नसक्दा बुझाइमा विविधता देखिँदै आएको छ । हामीमध्ये कतिपयले नेताहरूमा समस्या देख्छौँ, नेताहरू अझ प्रमुख नेताहरूमा, कतिपयले त व्यवस्थामै समस्या भनेर भनिराखेका छन् । मुल समस्या व्यवस्थामा होइन, न त मात्र व्यक्तिको आचरणमा । समस्या हाम्रो आर्थिक नीतिमा छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बुझ्ने कुरामा छ । साथै, हाम्रो व्यवहार र आचरणमा पनि । संवैधानिक व्यवस्था र हामीले अभ्यास गरिरहेको अर्थ राजनीतिको बिचको सामञ्जस्यता कायम राख्न नसक्नुमा छ । समस्याको चुरो कुरा यहाँनेर छ ।’
उनले अहिलेको नीति तथा कार्यक्रम निराशाजनक रहेकोले यसले निकास दिन नसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस्