काठमाडौं । २०८१ असार ३१ गते पाचौं पटक अर्थ मन्त्रालयको बागडोर सम्हालेपछि विष्णुप्रसाद पौडेललाई मन्त्रालय मातहतका नियुक्तिहरुमा अवसर नै अवसर आयो ।
लगानी बोर्ड, धितोपत्र बोर्ड, बीमा प्राधिकरण, नेपाल स्टक एक्सचेन्ज, नेपाल राष्ट्र बैंक जस्ता पुँजी बजारको महत्वपुर्ण नियुक्तिहरु अर्थ मन्त्री पौडेलकै पालामा नियुक्ति हुँदैछन्। अर्थमन्त्री पौडेलले लगानी बोर्डमा एमाले निकट शुशिल ज्ञावालीलाई नियुक्ति दिलाएका छन् । तर अन्य महत्वपुर्ण नियुक्तिमा भने मन्त्री पौडेल कमजोर बनेका छन् ।
धितोपत्र बोर्ड, बीमा प्राधिकरण, नेपाल स्टक एक्सचेन्जमा नेपाली काँग्रेस निकटका व्यक्तिहरुले नियुक्ति लिइसकेका छन् । यस्तै, राष्ट्र बैंकको गभर्नर पनि लगभग काँग्रेसले लिने पक्का जस्तै भैसकेको छ ।
भाग्यमानी अर्थमन्त्री जसले राष्ट्र बैंक, बोर्ड, बीमा र नेप्सेमा प्रमुख नियुक्ति गर्ने अवसर पाए
बोर्ड अध्यक्ष नियुक्तिमा मन्त्री पौडेलको चाल
निकै विवादित बनेको धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा अर्थमन्त्री पौडेलले कुटिल चाल चालेका थिए । अर्थमन्त्रीमा वर्षमान पुन हुदाँ बोर्ड अध्यक्ष जसरी पनि सन्तोषनारायण श्रेष्ठलाई नै बनाउनु पर्ने भन्दै अर्थमन्त्री पौडेल अध्यक्ष केपी शर्मा ओली समक्ष पुगेका थिए । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री ओलीले बोर्ड अध्यक्ष जसरी पनि श्रेष्ठलाई बनाउनु पर्ने दबाब दिएका थिए ।
तर सो प्रस्ताव तत्कालिन अर्थमन्त्री पुन र प्रधानमन्त्री प्रचण्डले मानेनन् । बोर्ड अध्यक्षकै विषयलाई लिएर तत्कालै सरकार ढल्यो । यसपछि प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले पनि बोर्ड अध्यक्ष नियुक्ति प्रकृया अघि बढाए । प्रधानमन्त्री ओली बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठको नाम धेरै गिजोलिएकोले पात्र फेर्नुपर्ने पक्षमा थिए । यसका लागि प्रधानमन्त्री ओलीले केहि बिचौलियालाई मनाउने प्रयास पनि गरेका थिए । प्रधानमन्त्री ओलीले अध्यक्ष नियुक्तिको प्रकृयालाई रद्ध गरेर नयाँ अध्यक्ष एमालै कै क्याडर लैजाने प्रयास गरेका थिए ।
प्रधानमन्त्री कार्यालयको यो प्रस्तावमा अर्थमन्त्री पौडेल सहमत भएनन् । उनी जसरी पनि श्रेष्ठ अध्यक्षको विकल्प नभएको भन्दै कुटनितिक चाल चालिरहे । स्रोतका अनुसार प्रधानमन्त्रीको यो रणनितिपछि मन्त्री पौडेलले परराष्ट्र मन्त्री आर्जु देउवालाई अघि बढाएका थिए । एमालेकै क्याडरलाई बोर्ड अध्यक्ष बनाउन नचाहनुले एमालेकै नेताहरु अर्थमन्त्री पौडेलप्रति सशंकित भएका थिए ।
बोर्ड अध्यक्ष सन्तोष नायायण श्रेष्ठलाई नै बनाउने गरी परराष्ट्र मन्त्री देउवाले प्रधानमन्त्री ओलीलाई दबाब दिएपछि विवादित पात्रलाई बोर्ड अध्यक्ष बनाउन प्रधानमन्त्री ओली राजी भएका थिए । स्रोतका अनुसार बोर्ड अध्यक्षमा नेकपा एमालेका महासचिव शंकर पोख्रेलले आफू निकट पात्र खोजेपछि अर्थमन्त्री पौडेलले बिचौलियाकै पात्रलाई अघि सारेका थिए ।
यसैगरी, बीमा प्राधिकरण नेपाली काँग्रेसले पाउने मोटामोटी सहमति पहिल्यै बनेको थियो । बीमा प्राधिकरणमा पनि एमाले निकट रामशरण पुडासैनीलाई अध्यक्ष बनाउन शंकर पोख्रेल र विष्णु रिमालले प्रयास गरेका थिए । तर सफल हुन सकेनन् । प्राधिकरण अध्यक्षमा शरद ओझाले नियुक्ति लिइसकेका छन् ।
यस्तै, नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पनि एमालेको क्याडरले नियुक्ति पाउन सकेन । उल्टै मन्त्रिपरिषदबाट नारद लुइटेलको नाम पास भैसकेकोमा पनि निर्णय उल्टाएर चुणामणि चापागाईले नियुक्ति पाए ।
राष्ट्र बैंक पनि काँग्रेसलाई
राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयलाई लिएर अहिले सत्ता गठबन्धन नै धरमर बन्न थालेको छ । अर्थमन्त्री आफैं छनोट समितिका संयोजक भएर पनि एमालेका निकटलाई नियुक्ति दिलाउन असफल बन्ने लगभग पक्का भएको छ । धितोपत्र बोर्ड, नेप्से र बीमा प्राधिकरणपछि राष्ट्र बैंकको गभर्नर एमालेले लिने भनेर ढुक्क बसेका प्रधानमन्त्री ओली गभर्नर नियुक्तिमा काँग्रेसले नै भाग खोजेपछि झस्किएका छन् । अहिले २ वटा महत्वपुर्ण नियुक्ति खाली छ । राष्ट्र बैंकको गभर्नर र निर्वाचन आयोगको प्रमुख आयुक्त । यी दुई पदमा एक काँग्रेस र एक एमालेले लिने मोटामोटी सहमति भएको स्रोतको दाबी छ । यद्यपी नेपाली काँग्रेसले गभर्नर आफूले भनेको व्यक्ति छिटो टुङग्याउन दबाब दिइरहेको छ । तर एमाले भने गभर्नर नियुक्ति प्रकृयालाई लम्ब्याएर आयोग र गभर्नर एकै दिन नियुक्ति गर्न चाहान्छ ।
पौडेल र पोख्रेल आमने-सामने
नेकपा एमालेका महासचिव शंकर पोख्रेल र एमालेका उपाध्यक्ष विष्णु पौडेलबिच पार्टीभित्र चर्को शक्ति संघर्ष चलिरहेको छ । काँग्रेस एमालेको सरकार बनाउन मुख्य भुमिका खेलका महासचिव पोख्रेलले अर्थमन्त्री पौडेललाई जसरी पनि रोक्न चाहान्थे । २०७९ को चुनावमा पराजित भएका पोख्रेलले सकेसम्म पौडेलका ठाउँमा अर्को व्यक्तिलाई पठाउन चाहान्थे । तर पौडेलले ठूलो शक्ति सघर्ष गरेपछि अर्थमन्त्री बन्न सफल भए । अर्थमन्त्री पौडेल भएपनि मन्त्रालयमा सुक्ष्म रुपमा नियन्त्रणमा लिन शंकर पोख्रेलले मिहनेत गरिरहेका छन् । मन्त्रालयभित्र हुने सरुवा बढुवा देखी सचिव परिवर्तनमा शंकर पख्रेल समुहले चासो राख्ने गरेका छन् ।
एमालेका एक नेताले भने, “दुई नेताबिच ठूलो शक्ति सघर्ष छ, हामीले कुनै काम लिएर महासचिव पोख्रेलकहाँ गयौं भने गुट परिवर्तनको प्रमाण चाहियो वा कमिटमेन्ट चाहियो भन्ने गरेका छन् ।” ती नेताका अनुसार पार्टीभित्र र नेताको टसल बढ्दा नियुक्तिहरुमा पनि काँग्रेसलाई फाइदा पुगेको छ । यदी एमाले निकटले नियुक्ति पाउने भयो भने शंकर पोख्रेलले आफ्नो व्यक्ति अघि सार्ने भएकाले पोख्रेललाई शक्तिशाली बनाउनु भन्दा काँग्रेस के उम्मेदवारलाई अर्थमन्त्री पौडेलल अघि सार्ने गरेको स्रोतको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्