वालिङ । स्याङ्जाको आँधीखोला गाउँपालिका–५ जुग्ले हुँदै बाँगे जाने सडक कालोपत्र गरिएको छ । जुग्ले बजारदेखि गोगनपानी हुँदै फेदीखोला गाउँपालिका–५ को बाँगेलाई जोड्ने गरी सडक कालोपत्र गरिएको हो । जुग्ले–बाँगे सडकखण्डको हाल जुग्ले–गोगनपानी खण्डको साढे तीन किलोमिटर सडक कालोपत्र गरिएको आँधीखोलाका अध्यक्ष विश्वनाथ पौडेलले बताए ।
‘आँधीखोला र फेदीखोला गाउँपालिकाका जनघनत्व धेरै रहेका गाउँलाई समेट्दै सडक कालोपत्र गरिएको छ’ उनले भने ‘सामरिक महत्त्वका दृष्टिकोणका साथै भौगोलिक बनोट, खेतीपाती, विद्यालय, बजारको आवतजावतका लागि पनि यो सडकले गाउँ र शहरलाई जोडेको छ ।’
गाउँमा नागरिकको जनघनत्व धेरै रहेकाले उनीहरुलाई गाउँमै टिकाइराख्न र गाउँमा बाह्रै महिना सडकको सहज पहुँच पुर्याउन यो सडकले महत्त्वपूर्ण टेवा दिने उनले बताए । दश वर्षअघि ‘ट्र्याक’ खोलिएको सडकलाई आँधीखोलाले सङ्घीय सरकारसँगको समपूरक अनुदानअन्तर्गत बहुवर्षीय योजनाका रुपमा अगाडि बढाएको हो ।
विसं २०७९ माघमा सम्झौता भई निर्माण सुरु भएको सडक विसं २०८२ साउनभित्र सकिनुपर्नेमा समयावधिभन्दा पहिले नै निर्माण सकिएको उनले बताए।
‘बहुवर्षीय योजनाअन्तर्गत चालु आर्थिक वर्षमा तीन किलोमिटर कालोपत्र र झन्डै ६०० मिटर ढलान गरिएको छ’ उनले भने ‘साढे तीन किलोमिटर सडक कालोपत्र र ढलान सकिएसँगै आँधीखोला गाउँपालिकाभित्र पर्ने सडक निर्माणसम्पन्न भएको हो, अब आउने वर्षमा फेदीखोला गाउँपालिकातर्फको सडक कालोपत्र सुरु हुन्छ ।’
सङ्घीय सरकारको समपूरक अनुदानअन्तर्गत रु तीन करोड र आँधीखोलाको रु चार करोड ५५ लाख गरी कूल ७ करोड ५५ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । स्याङ्जा, कास्की र पर्वतको सीमामा अवस्थित पर्यटकीय स्थल पञ्चासे पुग्नका लागि पनि यो सडक निर्माणसँगै सहज हुने भएको हो ।
तीन किलोमिटर ५०० मिटर लम्बाइ यस पटक कालोपत्र गरिएको गाउँपालिकाका सिनियर सब–इञ्जिनियर सन्तोष सुवेदीले बताए । सडक नालीसहित सात मिटर चौडाइको रहेको छ । सडक किनारामा पहेँलो घेराको रङ–रोगन गर्ने, सडकको दायाँ बायाँ किनारामा सुरक्षा बार लगाउने काम पूरा भएको उनले बताए । सडक पाँच दशमलव ७५ मिटर चौडाइ रहनेगरी कालोपत्र गरिएको छ ।
‘प्रिमिक्स कार्पेटिङ’ प्रविधिको कालोपत्र गरिएको उनले बताए । उक्त सडक निर्माणका लागि विजय/राङखोला सिद्धबाबा जेभीले ठेक्का सम्झौता गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्