थन्किएका विद्युतीय सवारी साधन प्रयोगमा ल्याउँदै लुम्बिनी विकास कोष
सिंहदरबार संवाददाता
लुम्बिनी । पर्यटकलाई सेवा दिने ध्येयले लुम्बिनी विकास कोषद्वारा सञ्चालित विद्युतीय सवारीसाधन पछिल्लो समय प्रयोगहीन भएका छन् । एसियाली विकास बैंकको दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनाअन्तर्गतको क्लिन इनर्जी फण्डबाट लुम्बिनी क्षेत्रको पर्यटन प्रवरद्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत १९ विद्युतीय सवारीसाधन कोषले ल्याएको थियो ।
लुम्बिनीमा ल्याइएका १४ भ्यान र पाँचवटा विद्युतीय बस वातानुकूलित, अपाङ्गमैत्री र स्वचालित ढोका भएका छन् । प्रत्येक बसमा १९ सिट र भ्यानमा पाँच सिट क्षमता छ । एकपटक पूरा चार्ज गरेपछि चार सय किमी गुड्ने उक्त बस/भ्यानमा कार्डबाटै भुक्तानी गर्न सकिने सुविधा रहेको जनाइएको छ ।
यही वैशाख १३ गते लु१झ ६९६ नम्बरको विद्युतीय भ्यान लुम्बिनी ग्रामक्षेत्रभित्रको सडकमा अनियन्त्रित भई दुर्घटना समेत भएको थियो । सेतोलाई हरियो नम्बर प्लेटमा रूपान्तरण गरी दाताको उद्देश्यअनुसार सञ्चालन गर्न अदालतले एक महिनाको समयसीमा तोकेर परमादेश जारी गरेको, लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले बताए ।
उनले भने “उक्त समयसीमा पनि नाघिसक्यो, अवस्था ज्युँका त्युँ छ ।” “कानुनी अस्पष्टताका कारण सेतो प्लेटका सवारीसाधनलाई उद्देश्यअनुसारको प्रयोगमा ल्याउन सकेका थिएनाैं । अदालतको आदेशपछि प्रक्रिया अघि बढाइएको छ”, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले भने, “अब हरियो प्लेट बनाएर उद्देश्यअनुसारको प्रयोगमा ल्याइने छ ।”
लामो समयसम्म खुला आकाशमुनि एकै ठाउँमा थन्क्याएर राख्दा जाम हुने, बिग्रिने र ब्याट्री डिस्चार्ज हुनेजस्ता डर भएर कोषले आन्तरिक प्रयोजनका लागि गुडाउँदै गर्दा केही सवारीसाधनमा सामान्य क्षति पुगेको र आगामी दिनमा त्यस्तो नहुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्