Skip to content
Shikhar Insurance
National Life

चीनको संघाईमा रमाइरहेका अनन्त सापकोटाको परिवार, यसरी सुनाए चीनमा बिताएका २५ वर्षको अनुभव

Hyundai
NCELL
NIMB

संघाई । पुल्चोक इन्जीनियरीङ क्याम्पसमा अध्यापन गरिरहेका इन्जीनियर अनन्त सापकोटा चिनियाँ भाषा सिक्ने अवसर पाएपछि सन् १९९९ मा चीनको संघाईमा आइपुगे । पहिलो पटक आएको बेला सापकोटा केही समयमा भाषा अध्ययन सम्पन्न गरेर स्वदेश फर्र्किए । दोस्रो पटक २००१ मा स्नातकोत्तर गर्न फेरी संघाई आएका उनले श्रीमती सम्झना सापकोटालाई समेत साथमा ल्याए ।

त्यसपछि भने सापकोटा परिवार नेपाल फर्किएनन् र चीनमै केही गर्नुपर्छ भन्दै डटिरहे । त्यसकै परिणाम स्वरुप अनन्त सापकोटाले चीनको संघाई स्थित विभिन्न संस्थाहरुमा काम गर्दै अहिले स्वतन्त्र परामर्शदाताको रुपमा कार्यरत छन् भने श्रीमती सम्झना पनि संघाई स्थित एक अमेरिकी स्कुलमा कार्यरत छिन् ।

अनन्तले संघाईमै बिभिन्न चिनियाँ तथा विदेशी कम्पनीमा काम गर्दा गर्दै आफ्नो लगानीमा कस्मेटिक उत्पादनको काम सुरु गरे । कस्मेटीक उत्पादनको काम छोडेपछि उनले ‘मेलालेउका’ नामक कम्पनीमा म्यानीफ्याक्चर इन्जीनियरको रुपमा काम गरे । त्यहाँबाट अवकाश भएपछि पनि उनी अहिले संघाईमा स्वतन्त्र परामर्शदाताको रुपमा सक्रिय छन् ।

संघाईमा काम गर्दा गर्दै सापकोटा कम्बोडियामा समेत गएका थिए । त्यहाँ व्यवसाय विस्तार गर्ने अपेक्षा राखेको भएपनि सोचेअनुरुप काम नहुदाँ उनी फेरी संघाईमै फर्किए । र, संघाईमै आफ्नो कामलाई निरन्तरता दिए ।

‘अहिले संघाईमै स्वतन्त्र परामर्श दाताको रुपमा काम गरिरहेको छु,’ उनले बताए ।

अनन्त मात्रै होइन, उनकी श्रीमती सम्झाना सापकोटा पनि सन् २००१ देखि संघाईमै छिन् । अहिले उनी ‘संघाई लिभिङस्टोन अमेरिकन स्कुल’ मा काम गर्छिन् । उनी त्यहाँ म्यानेजरको रुपमा कार्यरत छिन् । उनीहरुको एक छोरा भने अध्ययनका लागि अमेरिकामा छन् । उनको परिवार नेपाल समय समयमा नेपाल आउने जाने गर्छन् ।

सम्झनाले सुरुमा संघाईमा चिनियाँ भाषा अध्ययन गरेर बसिन् । छोरा समेत जन्मी सकेकाले उनले सुरुमा काम गर्न भने समय पनि पाइनन् । छोरा हुर्किएपछि उनी सन् २००९–१० देखि काम सुरु गरिन् । सुरुमा उनले कोरियन कम्पनीमा काम गरेकी थिइन् ।

कोभिड–१९ मा दु:ख

संघाईमा स्थापित भइसकेका सापकोटा परिवारले कोभिड–१९ महामारीमा भने नेपाललाई धेरै सम्झीए । कोभिड संक्रमण चीनबाटै सुरु भएको थियो । कोरोना नियन्त्रण गर्न चीनमा देशव्यापी रुपमा कडा लकडाउन लगाइएको थियो । त्यसको मारमा सापकोटा परिवार थियो । त्यसबेला नेपाललाई धेरै नै सम्झीएको सम्झना बताउँछीन् ।

‘हामी नेपाल नियमीत रुपमा आउने जाने नै गर्दथ्यौं । तर, कोभिड–१९ महामारीमा भने नेपालको धेरै नै याद आयो । कोभिड–१९ मा यहाँ कडा लकडाउन थियो । हामीलाई बाहिर निस्कनै दिने थिएन । तर, हामीलाई आवश्यक पर्ने खाद्यन्न लगायतका सबै सामग्री भने सरकारले घरमै डेलीभरी गरिदिन्थ्यो । आवश्यक सहयोग गर्ने बिषयमा केही कमी थिएन । तर, हामीलाई बाहिर निस्कन भने दिएको थिएन,’ सम्झना भन्छीन्, ‘त्यसबेला हामी निकै आतिएका थियौं । त्यो बेला नेपालको याद धेरै आयो । अहिले पनि नेपालको सम्झना आइरहन्छ । त्यसबेला भने नेपाल नै फर्किन मन थियो ।’

संघाई विकासका प्रत्यक्ष साक्षी

संघाई चीनको पहिलो नम्बरको विकसित शहर हो । विश्वमा समेत यो बढी विकसित शहर मानिन्छ । विश्वको सबै भन्दा ठूलो मेट्रोरेल नेटवर्क पनि संघाईकै हो । १९९० सम्म संघाई सामान्य शहरको रुपमा थियो । अहिले संघाई विकसित शहरको रुपमा स्थापित भइसकेको छ । संघाईको यो विकासका प्रत्यक्ष साक्षी सापकोटा परिवार पनि हो ।

‘म १९९९ आउँदा संघाई सामान्य शहर थियो । विदेशीहरुले बनाएका पुराना भवनहरु थिए । अधिकांश ठाउँमा खेतीयोग्य जमित तथा खेतहरु थिए । त्यसबेलाको नेपालको काठमाडौंको तुलनामा पनि संघाईको विकास कम देखिन्थ्यो । तर, अहिले संघाई विकसित शहरको रुपमा स्थापित भएको छ,’ अनन्त सापकोटा भन्छन्, ‘सन् १९९२ मा मेट्रोको सुरुवात भएको थियो रे । त्यस यता संघाईले विकास निरन्तर फड्को मार्दै आएको देखिन्छ । अहिले संघाई विश्वकै विकसित शहरको रुपमा विकास भएको छ ।

पोलिसी रि–फर्म, राजनीतिक स्थायीत्व, चीनको काम गर्ने शैली लगायतका कारण संघाई सहित चीनले यो स्तरको विकास गर्न सफल भएको देखिन्छ । यहाँ योजनाबद्ध रुपमा काम गर्ने अभ्यास छ । त्यसले गर्दा चीनले यो स्तरको विकास गर्न सकेको देखिन्छ । अहिले चीनले अमेरिकालाई मात्रै प्रतिस्पर्धी मुलुक मान्छ ।’

नेपालीका लागि कस्तो छ संघाई ?

नेपालीका लागि अध्ययन र विभिन्न काम गर्नलाई संघाईमा राम्रो बातावरण रहेको सोपकोटा परिवार बताउँछन् । संघाईमा गणित र विज्ञान विषय अध्ययनको लागि राम्रो रहेको उनीहरु बताउँछन् ।

‘अहिले यहाँको सिस्टम पनि राम्रो छ । यहाँ अध्ययनका लागि निकै राम्रो छ,’ सम्झाना बताउँछीन, ‘काम गर्न आउनेहरुलाई पनि धेरै राम्रो छ । कम्पनी अनुसारको फरक व्यवस्था हुन्छ । मल्टिनेशनल कम्पनीमा भयो भने राम्रो सुविधा हुन्छ । प्रक्रिया पुरा गरेको खण्डमा राम्रो सुविधा रहेको छ । यहाँ काम गर्नका लागि चिनिया भाषाको ज्ञान भने आवश्यक हुन्छ ।’

चीनले १९९६ मा लिएको खुला नीतिका कारण विदेशीहरुलाई पनि चीनमा भविष्य निर्माण गर्न सहज हुन थालेको उनी बताउँछीन् ।

‘१९९६ देखि चिनले खुला नीति लियो । त्यसमा अरु देशका नागरिकले पनि चीनमा कम्पनी खोल्न पाउने र काम गर्न पाउने नीति छ,’ उनले भनिन्, ‘त्यो नीतिले गर्दा हामीहरुलाई पनि यहाँ बसेर काम गर्न सहज भएको हो ।’

चीनको संघाईमा बसोबास गरेपनि सापकोटो परिवारको मन भने नेपालमै छ । नेपाल पनि चीनकै जस्तो विकास भएको देख्ने चाहाने भएको सापकोटा परिवार बताउँछन् ।

‘चीनको नीति नियमहरु राम्रो छ । संघाई पनि राम्रो शहर हो । व्यवसायका लागि पनि निकै राम्रो छ,’ अनन्त सापकोटा भन्छन्, ‘यहाँको जस्तो बातावरण र विकास हाम्रो देश (नेपाल) मा पनि भइदियोस् भन्ने चाहाना छ ।’

 

GBIME

प्रतिक्रिया दिनुहोस्