काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले कमजोर अर्थतन्त्र सुधार्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्ने आवश्यकता औँल्याएका छन् । प्रतिनिधिसभाको चालु अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा धारणा राख्ने क्रममा अध्यक्ष लिङ्देनले शक्ति र पहुँचका आधारमाभन्दा पनि आवश्यकताका आधारमा बजेट ल्याइनुपर्नेमा जोड दिए ।
‘सरकारमा रहेका नेताको गोजीबाट बजेट बन्ने र उनीहरुको निर्वाचन क्षेत्रलाई मात्र पैसा दिने स्थितिको अन्त्य होस् । बजेट पुस्तिका च्यात्नुपर्ने र विरोध गर्नुपर्ने अवस्थाको अन्त्य होस्’ उनले भने । गत चैत १५ गते तीनकुनेमा भएको घटनाको न्यायिक छानबिनका लागि आयोग गठनको माग राप्रपाले पुन: दोहोर्याएको छ । उक्त घटनाका क्रममा प्रदर्शनकारीबाटभन्दा पनि सरकारपक्षबाट दमन भएको उनको आरोप छ ।
‘यदि त्यो घटना सुनियोजित थियो भने कुनै पनि प्रदर्शनकारीबाट प्रहरीले किन हतियार पक्रन सकेन ? प्रदर्शनकारीबाट लट्ठीसम्म बरामद भएको देखिँदैन’ उनले भने ‘तर प्रहरीबाट ६५० भन्दाबढी राउण्ड अश्रुग्यास चलेको छ । अरु विभिन्न खालका फायरिङ भएका छन् ।’
उक्त प्रदर्शनसँग कुनै सम्बन्ध नै नरहेका र बाटो हिँडिरहेका व्यक्तिमाथि गोली प्रहार भएको लिङ्देनको भनाइ छ । प्रदर्शनका क्रममा भाटभटेनीमा भएको लुटपाटमा सत्तारुढ दलकै व्यक्तिहरु पक्राउ परेको र ती व्यक्तिलाई कारबाही नगरी छोडिएको आरोपसमेत उनले लगाए ।
उनले तीनकुने घटना प्रकरणमा न्यायिक आयोग गठनको पुन: माग गरे । त्यस्तै, राजसंस्थाको कुरा गर्नु भनेको प्रजातन्त्रको विरोध गर्नु हो भनेर गलत भाष्य बनाइएको उनको भनाइ छ । ‘ँराजाको कुरा गर्नु भनेको लोकतन्त्रको विरोध होइन । राजसंस्था र लोकतन्त्र एकअर्काका विकल्प होइनन्’ उनले भने ‘विश्वमा कतिपय देशमा राजसंस्थासहितको उन्नत प्रजातन्त्र प्रयोगमा छ ।’
राजनीतिक दल र सरकारले लोकतन्त्र विरोधी काम गरिरहेको आरोप पनि लिङ्देनको छ । लोकतन्त्रको विरोधी र पक्षमा को छ भनेर व्यवहारले देखाउने उनको भनाइ छ । राजनीतिक दलहरुले निरंकुश व्यवहार गर्न नहुने उहाँले संसद्मा उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्