काठमाडौं । चीनका वैज्ञानिकहरूले ’लिथियम ब्याट्री’ किन असफल हुन्छ भन्ने महत्वपूर्ण कारण पत्ता लगाएका छन्। यो खोज विद्युतीय सवारीसाधनको क्षेत्रमा ठूलो योगदान पुर्याउन सक्ने विश्वास गरिएको छ ।
लिथियम ब्याट्री एक प्रकारको रिचार्जेबल (पुनः चार्ज गर्न मिल्ने) ब्याट्री हो, जसमा उर्जा सञ्चय र उपयोगका लागि लिथियम आयनहरूको प्रयोग गरिन्छ। यसमा दुईवटा इलेक्ट्रोडहरू (एनोड र क्याथोड) हुन्छन् र तिनीहरू बीच लिथियम आयनहरू चार्ज हुँदा एक दिशातर्फ र डिस्चार्ज हुँदा अर्को दिशातर्फ सर्छन्।
लिथियम ब्याट्री हल्का, लामो समय टिक्ने, छिटो चार्ज हुने र उच्च उर्जा क्षमता भएको हुन्छ, जसले गर्दा यो मोबाइल, ल्यापटप, विद्युतीय गाडी तथा सौर्य उर्जा प्रणालीहरूमा व्यापक रूपमा प्रयोग गरिन्छ । हाल चीन लिथियम ब्याट्री उत्पादन र प्रविधिमा अग्रणी राष्ट्र बनेको छ। जापान र कोरियाजस्ता देशहरूसँग नयाँ ब्याट्री प्रविधिमा मित्रवत प्रतिस्पर्धा गर्दै, चीनले थप प्रगति गरिरहेको छ ।
ब्याट्री बिग्रनुको कारण सामान्य ब्याट्रीमा झोल पदार्थ प्रयोग हुने भए तापनि, लिथियम ब्याट्रीमा कडा पदार्थ प्रयोग हुन्छ। चार्ज गर्ने क्रममा लिथियम फैलिँदा र खुम्चिँदा यस्तो ठोस पदार्थमा चिरा पर्न सक्छ, जसले ब्याट्रीलाई असर पुर्याउँछ ।
टोङ्जी विश्वविद्यालय र हुआझोङ विज्ञान तथा प्रविधि विश्वविद्यालयका वैज्ञानिकहरूले अनुसन्धानमार्फत लिथियम धातु बारम्बार प्रयोग हुँदा कमजोर बन्न सक्ने पत्ता लगाएका छन्, जसले ब्याट्री बिग्रन सक्छ । यस अध्ययनलाई साइन्स नामक अन्तर्राष्ट्रिय वैज्ञानिक पत्रिकामा प्रकाशित गरिएको छ। यसले ब्याट्रीको आयु अनुमान गर्न मद्दत पुर्याउने विश्वास गरिएको छ ।
भविष्यका लागि सकारात्मक सङ्केत यस्तो ब्याट्रीहरू परम्परागत ब्याट्रीभन्दा धेरै ऊर्जा संचित गर्न सक्ने, सानो आकारको, सुरक्षित र दीर्घकालीन हुने भएकाले आगामी दिनमा यसको प्रयोग व्यापक रूपमा बढ्ने अपेक्षा गरिएको छ ।
चिनियाँ वैज्ञानिक टोली र अग्रणी कम्पनीहरूबीच सहकार्य हुँदै गएको छ । कतिपय कम्पनीहरूले सन् २०२७ भित्र सानो स्तरमा उत्पादन सुरु गर्ने योजना बनाएका छन् भने सन् २०३० तिर यसको व्यापक प्रयोग हुने सम्भावना रहेको बताइएको छ ।
चीनसँग बलियो उत्पादन क्षमतासहितको बजार, वैज्ञानिक स्रोत र प्रविधि उपलब्ध भएकाले यस्तो नयाँ प्रविधिमा अझ राम्रो प्रगति हासिल हुने विश्वास विज्ञहरूले व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्