काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले महाधिवेशन गर्ने भएको छ । लामो समयदेखि विवादमा अल्झिएको गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई एकताबद्ध गरी एकताको महाधिवेशन गराउने जिम्मेवारी सम्मानित सर्वोच्च अदालतको परमादेशबाट प्राप्त भए पछि डा. शेष घलेको अध्यक्षतामा गठित एनआरएनए उच्चस्तरीय समितिको आह्वानमा आगामी वैशाख २० गतेदेखि २२ गते (मे ३,५) सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
एनआरएनएको एकता महाधिवेशनमा बढी भन्दा बढी एनआरएनहरूको सहभागिता हुन सकोस् भन्ने उद्देश्यले नि:शुल्क सदस्यताको व्यवस्था गर्नुका साथै सदस्यताका लागि आवेदन दिने मिति पटक पटक थप गरिएको थियो। एनआरएनए उच्चस्तरीय समितिको वेबपोर्टलमा १६ हजार बढीले सदस्यताका लागि आवेदन दिने हाे भने एनसीसीहरुमा आवद्ध भएर एनसीसीले उच्चस्तरीय समितिलाई पठाएको संख्या जोड्ने हो भने ४७ हजार बढी रहेको छ ।
उच्चस्तरीय समितिको वेबपोर्टल र एनसीसीहरुबाट आएको संख्या जोड्दा ६३ हजार बढी जना सदस्य बनेका छन् । यसैगरी एकता महाधिवेशनमा प्रतिनिधि (डेलिगेट्स) को रूपमा सहभागी हुन आइतबार (२० अप्रिलसम्म) २५ सय बढी जनाले निवेदन दिएका छन् । डेलिगेट्स बन्न अप्रिल २२ (नेपाल समय राती ११:५९ बजे) सम्म आवेदन दिन सक्रनेछन् । उक्त अवधिभित्रै डेलिगेट्स बन्न आवेदन दिनुका साथै भौतिक रूपमै काठमाडौंमा उपस्थित भएर संस्थाको नयाँ विधान बनाउने तथा नयाँ कार्य समिति चयन गर्ने प्रक्रियामा सहभागी हामी हुन एनआरएनएका सम्पूर्ण पञ्जीकृत सदस्यहरूलाई आग्रह गरेका छन् ।
डेलिगेट्स बन्नु भएकाहरु आफू स्वयम् पनि नेतृत्वमा दावी गर्नका लागि स्वतन्त्र हुन् । यसलाई हामीले एनआरएनएको लोकतान्त्रिककरणको रुपमा लिएका छौं । डेलिगेट्स बन्नका लागि अनिवार्यरुपमा बैंकमा रकम जम्मा गर्नु पर्ने छ ।
डेलिगेट्स बन्नका लागि १०० रूपैयाँ तिर्नु पर्ने जानकारी दिएका छन् । ऐतिहासिक एकता महाधिवेशन आयोजना गर्नका लागि विभिन्न उपसमिति गठन गरी तयारीको काम तीव्र गतिमा अगाडी बढी रहेको छ। अहिलेसम्म उच्चस्तरीय समितिको १४ पटक बैठक बसी सकेको छ भने नेपाल सरकारका प्रतिनिधिहरू पनि ती बैठकमा सहभागी भई रहेका छन् । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयको पटक पटकको पत्राचारका बाबजुद संघको सचिवालय, एमआइएस प्रणाली लगायतमा पहुँच नदिइएकाले उच्चस्तरीय समितिले आफ्नै वेब पोर्टलमा सदस्यता आहवान गर्यो भने राष्ट्रिय समन्वय परिषदहरुलाई पनि सहयोगका लागि आग्रह गर्यो।
एकता महाधिवेशनका लागि नयाँ कार्यसमिति (अन्तर्राष्ट्रिय समन्वय परिषद्) ( आइसिसी) निर्वाचित गर्नका लागि निर्वाचन समिति गठन भई घिमिरेको संयोजकत्वमा गठित निर्वाचन समितिमा सेवा निवृत्त मेजर डमर घले तथा अधिवक्ता आशीष उप्रेती रहनु भएको छ। निर्वाचन समितिले आफ्नो काम पनि सुरु गरी सकेको छ। नेतृत्वका लागि उम्मेदवार बन्नेहरुको शुल्क पनि तोकिसकेका छौं । निर्वाचनलाई स्वच्छ पारदर्शी र मर्यादित बनाउनका लागि सङ्घका पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका सदस्य देवमान हिराचनको संयोजकत्वमा निर्वाचन अनुगमन समिति पनि गठन गरिएको विज्ञप्तीमा उल्लेख छ ।
सन् २००३ मा स्थापना गरिएको एनआरएनए अहिले एउटा महत्त्वपूर्ण मोडमा आइ पुगेको छ। यो अवधिमा नेपालमा लगानी बढाउने, नेपाल सरकारसँग निकट सम्पर्कमा रही प्रवासमा रहेका गैर आवासीय नेपालीहरूको हक हित संरक्षण गर्ने तथा अन्य सामाजिक कल्याणकारी कामहरू सम्पन्न भएका छन् । तर संघ भित्रै आन्तरिक विवादलाई सुल्झाउन नसक्दा विभिन्न तहका अदालतसम्म पुग्नु परेको तथ्य पनि हामीले बिर्सन मिल्दैन।
डेलिगेट्स मित्रहरू काठमाडौँ आउने क्रम सुरु भई सकेको छ। डेलिगेट्सहरुलाई कुनै पनि सूचना वा जानकारी आवश्यक भएमा उच्चस्तरीय समितिको सचिवालयमा सम्पर्क गर्न सदस्य सचिव रबिना थापाले पनि अनुरोध गरेकी छिन ।
प्रतिक्रिया दिनुहोस्