काठमाडौं । विद्युतिय गाडी आयातमा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को ९ महिनामा ७ हजार ९ सय ५८ वटा इलेक्ट्रीक कार, जिप र भ्यान (इभी गाडी) नेपाल आयात भएको हो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चैत महिनासम्ममा ५० किलोवाटका इभी गाडी २ हजार ७ सय ८३ वटा भित्रिएको छ । त्यस्तै, ९ महिनामा ५१ किलोवाटदेखि १०० किलोवाट सम्मका इभी ४ हजार ४ सय १४ वटा नेपाल आयात भएको छ ।
१०१ किलोवाटदेखि २०० किलोवाट सम्मका इभी ७ सय ४२ वटा नेपाल भित्रिएको छ भने २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका १७ वटा र ३०० किलोवाट भन्दा माथिका २ वटा इभी नेपाल भित्रिएको छ ।
यी इभी गाडीहरु खरिद गर्नका लागि नेपाली व्यवसायीहरुले चैत महिनासम्म १८ अर्ब ६१ करोड ५८ लाख ३० हजार रुपैयाँ खर्च गरेका छन् भने नेपाल सरकारले सो मार्फत ११ अर्ब ४७ करोड ३९ लाख १३ हजार रुपैयाँ राजस्व उठाएको छ ।
राष्ट्र बैंकले इभी गाडीमा बैंक तथा वित्तीय संस्थाको लगानी जोखिममा पर्न सक्ने भन्दै डाउनपेमेन्ट २० प्रतिशतबाट ४० प्रतिशत पुर्याएको छ । इभी बिक्रेताहरुले बैक तथा वित्तिय संस्थाहरुलाई मात्रै असर पर्नेगरी गाडी बिक्री गर्न थालेपछि राष्ट्र बैंकले सो उपाय अबलम्बन गरेको हो । डाउन पेमेन्ट बढाउनका लागि वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओहरु) नै लबिङ गर्न राष्ट्र बैंक पुगेका थिए ।
कुन देशबाट कति भयो आयात ?
नेपालमा इभी प्रयोगकर्ता बढेसँगै आयातमा पनि वृद्धि भएको छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल इभी गाडीको आयात सबैभन्दा बढी चीनबाट भइरहेको छ । चालु आवको चैत मसान्तसम्ममा चीनबाट मात्रै ५ हजार ८ सय ९३ वटा इभी नेपाल आयात भएको छ ।
यस्तै, ९ महिनामा भारतबाट २ हजार २३ वटा इभी नेपाल भित्रिएका छन् भने जर्मनीबाट ३१ वटा, दक्षिण कोरिया (कोरिया रिपब्लिक) बाट ३ वटा, संयुक्त राज्य अमेरिका (युएस) बाट ५ वटा इभी नेपाल भित्रिएको तथ्यांकले देखाएको छ । कम खर्च र सजिलो फाइनान्सिङले विद्युतिय गाडीको प्रयोगमा वृद्धि भएको हो ।
प्रतिक्रिया दिनुहोस्