काठमाडौं । दिगो विकासको लक्ष्य हासिल गर्न वार्षिक ३० खर्ब रुपैयाँ आवश्यक पर्ने राष्ट्रिय योजना आयोगले अनुमान गरेको छ ।
दिगो विकास लक्ष्य आवश्यकता पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति, २०८१ को सार्वजनिक गर्दै आयोगले सन् २०३० सम्म २९९ खर्ब ६५ अर्ब आवश्यक पर्ने अनुमान गरेको हो । कोभिङ-१९, बसाइसराई सहरीकरण, बढ्दो असमानता, जलवायू परिवर्तन सम्बद्ध मुद्दाहरू संघीयता कार्यान्वयनमा प्रदेश र स्थानीय तहको भूमिकामा थप सबलीकरणको आवश्यकता आयोगले औल्याएको छ ।
अद्यावधिक प्रतिवेदनका अनुसार सन् २०२४-३० सम्मका लागि दिगो विकास लक्ष्य कार्यान्वयनका लागि करिब २९९ खर्ब ६५ अर्व रुपैयाँ (बार्षिक औसत: ३० खर्ब २३ अर्ब रुपैयाँ) लगानी आवश्यक पर्ने अनुमान गरिएको छ। दिगो विकास लक्ष्यहरू मध्ये कुल लगानी आवश्यकताको सबैभन्दा ठूलो हिस्सा लक्ष्य-९ (उद्योग नजविन खोज र पूर्वाधार) मा २४%, त्यसपछि लक्ष्य-७ (स्वच्छ ऊर्जा) को हिस्सा १२% र लक्ष्य-१ गरिबीको अन्त्यमा ११% आवश्यक हुने देखिएको छ। २०२४-३० को समयमा औसतमा कुल गार्हस्थ्य उत्पादनको ४५.४% लगानी आवश्यक हुने अनुमान रहेको छ।
यो अनुमान साविकको रणनीतिमा गरिएको औसत बार्षिक अनुमान भन्दा २.४ प्रतिशत अंकले कम रहेको छा विगो विकास लक्ष्यको लगानी आवश्यकता पुर्ति गर्नका लागि सार्वजनिक, निजी, सहकारी (गैरसरकारी र समुदाय सहित) र घरपरिवार स्तरबाट वित्तीय स्रोत उपलब्ध हुने गरी रणनीति तयार पारिएको छ।
सार्वजनिक क्षेत्रबाट दिगो विकास लक्ष्यको कुल लगानी आवश्यकताको ५७.५% लगानी परिचालन हुने अनुमान गरिएको छ। यसमध्ये संघ, प्रदेश र स्थानीय सरकारहरूको लगानीको हिस्सा क्रमशः ७०%, ९% र २१% रहने अनुमान गरिएको छ।
साथै निजी क्षेत्रबाट ३४.३५ प्रतिशत, सहकारी तथा गैरसरकारी क्षेत्रबाट ४.१८ प्रतिशत र घरपरिवार स्तरबाट ३.९५ प्रतिशत लगानी परिचालन हुने देखिएको छा दिगो विकास लक्ष्यको लगानी आवश्यकता र यसका लागि उपलब्ध विभिन्न स्रोतहरूको विश्लेषणले २०२४-३० को अवधिमा औसतमा ७५५ अर्ब रुपैयाँ (औसतमा कुल गार्हस्थ्य उत्पादनको ११.१ प्रतिशत) को वित्तीय अन्तर रहने अनुमान छ।
यसमध्ये, सार्वजनिक क्षेत्रमा वार्षिक औसत वित्तीय अन्तर ४२६ अर्ब रुपैयाँ हुने र निजी क्षेत्रको लागि वित्तीय अन्तर ३२९ अर्ब रुपैयाँ हुने अनुमान रहेको छ। लक्ष्य अनुसार, पूर्वाधार, दिगो शहर, शिक्षा, स्वास्थ्य, र खानेपानी र सरसफाइमा सबैभन्दा ठूलो वित्तीय अन्तर देखिएको छ।
प्रतिक्रिया दिनुहोस्