काठमाडौं । राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राजिनामा दिएका छन् । भट्टले शुक्रबार राजिनामा दिएको बताएका छन् ।
सिंहदरबारसँग कुरा गर्दै कार्यकारी निर्देशक डा. भट्टले भने, “शुक्रबार राजिनामा बुझाएको छु ।”
लामो समयदेखि गभर्नर नियुक्तिमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबिच रस्साकस्सी चलिरहेको छ । केहि दिनमै गभर्नर टुङगिने नेताहरुले दाबी गरिरहेको बेला भट्टले राजिनामा दिएका हुन् ।
सरकारले गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । पुर्व गभर्नर विजयनाथ भट्टराई र अर्थविद विश्व पौडेल सदस्य छन् । राष्ट्र बैंक ऐनमा गभर्नर नियुक्ति एक महिनाअघि नै सकिसक्नु पर्ने भएपनि हालसम्म गभर्नर नियुक्ति हुन सकेको छैन ।
पछिल्लो पटक शेर बहादुर देउवा र प्रधानमन्त्री केपी ओलीबिच गभर्नरको विषयमा सहमति भएको बताइएको छ । अबको एक/दुई दिनमै मन्त्रिपरिषदले गर्भनर नियुक्ति गर्ने बताइएको छ ।
यस्तो छ भट्टको अनुभव
डा. भट्ट नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन्। उनले त्रिभुवन विश्वविद्यलयबाट गोल्ड मेडलिष्ट सहित एमबीए गरेका छन् । अमेरिकाको विलियम्स कलेजबाट अर्थशास्त्रमा स्नातकोत्तर र अमेरिकाको वेन स्टेट विश्वविद्यालयबाट अर्थशास्त्रमा पिएचडी गरेका छन्।
२५ वर्ष राष्ट्र बैंकमा सेवा गरिसकेका भट्टले बैंकको आर्थिक अनुसन्धान विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, बैंक सुपरिवेक्षण विभाग, भुक्तानी प्रणाली विभाग र सार्वजनिक ऋण व्यवस्थापन विभागमा रहेर काम गरिसकेका छन्।
उनले चार वर्षभन्दा बढी समय बैंकको प्रवक्ताको रूपमा पनि काम गरेका छन्। डा. भट्टले डा.प्रकाश शरण महत अर्थमन्त्री रहँदा अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार र राजस्व सल्लाहकार बोर्डको सदस्यको रूपमा काम गरिसकेका छन्। हाल, उनी कर्जा सूचना केन्द्र लिमिटेडका अध्यक्ष पनि छन्। उनी पूँजी बजार नियामक, नेपाल धितोपत्र बोर्डको सञ्चालक बोर्डको सदस्य पनि थिए।
प्रतिक्रिया दिनुहोस्