काठमाडौं । चालु आवको ९ महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब ३९ करोड ४६ लाख ८६ हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आवको सोही अवधिको तुलनामा राजस्व संकलन ११.३१ प्रतिशतले बढेको हो ।
गत आवको सोही अवधिमा ३ अर्ब ९४ करोड ८१ लख ३६ हजार रुपैयाँ बराबरको राजस्व संकलन भएको थियो । विभागका अनुसार सेवा करबाट ३१ करोड ८३ लाख ५७ हजार, रजिष्ट्रेशन दस्तुरबाट २ अर्ब ३८ करोड ७६ लाख ११ हजार र पुँजीगत लाभकरबाट १ अर्ब ६४ करोड ५१ लाख ११ हजार सङ्कलन भएको छ ।
त्यसैगरी, सबैभन्दा धेरै राजस्व संकलन गर्नेमा मालपोत कार्यालय लगनखेल, ललितपुर रहेको छ । कार्यालयले ३७ करोड ८९ लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
त्यस्तै, मालपोत कार्यालय कलङ्की, काठमाडौंले ३३ करोड ४५ लाख ४४ हजार रुपैयाँ, मालपोत कार्यालय डिल्ली बजार, काठमाडौंले ३१ करोड ५६ लाख ६७ हजार रुपैयाँ, मालपोत कार्यालय चावहिल काठमाडौंले २९ करोड ८९ लाख ५८ हजार रुपैयाँ र मालपोत कार्यालय भक्तपुरले २७ करोड २५ अर्ब ७९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
चैत महिनामा देशैभरीहरुका मालपोत कार्यालयहरुबाट ४९ हजार ८ सय ३२ वटा जग्गाको लिखत पारित गरेको छ । मालपोत कार्यलयहरुले गत आवको सोही अवधिमा देशभर ५० हजार २ सय ५२ वटा जग्गा लिखत पारित गरेको थियो ।
चैत महिनामा सबैभन्दा धेरै लिखत पारित गर्नेको पहिलो नम्बरमा इनरुवा, सुनसरी रहेको छ । इनरुवाले चैत महिनाभरीमा १ हजार ८ सय ९६ वटा जग्गा लिखत पारित गरेको छ । त्यसैगरी, दोस्रो स्थानमा भद्रपुर झापा रहेको छ, जस्ले १ हजार ८ सय ४ वटा जग्गा लिखत पारित गरेको छ ।
त्यसैगरी, बेलवारी मोरङबाट १ हजार ७१४, जनकपुरधाम, धनुषाबाट १ हजार ५३८, राजविराज, सप्तरीबाट १ हजार ४ सय ९ वटा लिखत पारित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्