काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वातावरणमैत्री यातायात र विकास संरचना नेपालको प्राथमिकतामा रहेको बताएका छन् ।
सोसाइटी अफ ट्रान्सपोर्ट ईन्जिनियर्स नेपालको आयोजनामा आजदेखि काठमाडौंमा सुरु भएको अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटनका क्रममा उनले विकास संरचना निर्माणदेखि नै वातावरणीय क्षति हुन नदिनेमा सचेत रहने र वातावरणमैत्री सवारीसाधनलाई प्रोत्साहन गरिने उनको भनाइ छ ।
नेपालकोे यातायात प्रणालीलाई आधुनिक र सुव्यवस्थित बनाउन सरकार सक्रिय रहेको उल्लेख गर्दै मन्त्री दाहालले वातावरणमैत्री, दिगो, प्रविधियुक्त, अपाङ्तामैत्री र प्रयोगकर्तामैत्री यातायात प्रणाली विकास गर्ने नेपालको लक्ष्य रहेको बताए ।
‘सुरक्षित, बलियो र वातावरणमैत्री सडक पूर्वाधार निर्माण गर्नुका साथै सहरी तथा ग्रामीण क्षेत्रलाई जोड्ने सडक सञ्जाल विस्तार गर्नु र सार्वजनिक यातायात, सडक सुरक्षालगायत क्षेत्रमा सुधार ल्याउन नीति र कानुनी संरचना लागू गर्नु अहिलेको आवश्यकता हा । सरकारले त्यसतर्फ काम गरिरहेको छ’, उनले भने ।
दुई दशकअघिसम्म देशको मुख्य सडक पूर्व–पश्चिम राजमार्ग मात्र रहेको सन्दर्भमा पछिल्लो समय नेपालको पूर्वाधार निर्माण तीव्र रूपमा भइरहेको उल्लेख गर्दै मन्त्री दाहालले हालको अवस्थामा तीनवटा प्रमुख पूर्वपश्चिम राजमार्ग र एसियाली मापदण्डको एउटा राजमार्ग एकैसाथ निर्माण भइरहेको बताए ।
यसैगरी, उत्तर–दक्षिण राजमार्ग र करिडोरको पनि विकास भइरहेको र राजधानी काठमाडौंबाहेक व्यापारिक र रणनीतिक दृष्टिले महत्त्वपूर्ण सडक निर्माण भइरहेका उनले उल्लेख गरे । नेपालमा केही भएन र केही हुन सकेन भन्ने भाष्य चिर्न जरूरी रहेको भन्दै मन्त्री दाहालले सडक तथा पुलहरूका साथै हाल दुईवटा अन्तरराष्ट्रिय विमानस्थल निर्माण भइसकेका र नेपाल आधुनिक सुरुङमार्गको युगमा प्रवेश गरिसकेको धारणा राखे ।
‘नागढुङ्गा सुरुङ आगामी एक वर्षभित्र सञ्चालनमा आउने तयारीमा रहेको र सिद्धबाबा सुरुङमा ‘ब्रेकथ्रु’ भइसकेको छ । काठमाडौं—तराई—मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण तीव्र रूपमा भइरहेको छ’, मन्त्री दाहालले भने, ‘जसले केही भएको छैन भन्छन् नि उनीहरूलाई केही वर्षभित्रै चारदेखि छ लेनसम्मका पूर्वपश्चिम राजमार्ग र कम्तीमा दुई लेनका उत्तर–दक्षिण सडक पूर्ण रूपमा निर्माण भइसकेको देखाउनेछौँ ।’
कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा पूर्वाधार निर्माणको अवस्था, चरण र भावी कार्यदिशाबारे प्रकाश पारेका थिए । तीनदिने सम्मेलनमा विश्वका विभिन्न देशका विज्ञ तथा प्राध्यापकहरूले कार्यपत्र प्रस्तुत गर्ने आयोजक संस्थाका अध्यक्ष डा हरेराम श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्