काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उर्जा क्षेत्रको विकासले मुलुक समृद्ध बन्ने बताएका छन् । बुधबार सान्जेन खोला हाइड्रोपावर परियोजनाको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
उनले १० वर्ष भित्रमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले कामहरु अघि बढाइरहेको बताउँदै दुई ठूला छिमेकी देशहरुसँग काँधमा काँध जोडेर अघि बढ्दै नेपालको उर्जा क्षेत्रको विकास गर्ने जनाए । उनले पछिल्लो समय जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी सहयोग बढिरहेको भन्दै खुशी प्रकट गरे ।
विद्युत क्षेत्रमा लगानी गरेर मात्रै आर्थिक समृद्धि आउँछ भन्ने महशुस गरेर सबैले लगानी बढाइरहेको बताए । उनले अहिले उर्जा क्षेत्रले छिमेकीहरुको बीचमा सम्बन्ध प्रगाढ बनाएको जिकिर गरे । १० वर्ष भित्रमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य रहेपनि जलश्रोतको भरपूर प्रयोग गर्न नेपालले चाहेको बताए ।
उनले भने, ‘उर्जा क्षेत्रको विकासले मुलुकको समृद्धि हुनसक्छ भन्ने विश्वासका साथ अहिले १० वर्ष भित्रमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राख्दै गर्दा हाम्रा छिमेकी मित्रहरु चीन, भारत जस्ता देशहरुले दुई ठूला मुलुकहरु हुन, आर्थिक हिसावले सम्पन्न मुलुकहरुले हामीलाई पुर्याएको सहयोगप्रति आभार व्यक्त गर्न चाहन्छु । हामी सँगसँगै यहाँहरुसँग हिँड्न चाहन्छौँ । दुई वटा छिमेकी मुलुकहरु भन्दा पर नबसिकन कदममा कदम मिलाएर हिँड्न नेपाल चाहन्छ । १० वर्ष पहिला यस क्षेत्रमा धेरै लगानी गर्न इच्छुक नहुने परिस्थित थियो । वित्तीय क्षेत्रहरु पनि आँट गरेर अघि बढ्न नसकेको स्थिति थियो । १० वर्ष यता अत्यन्त ठूलो शाहसका साथ यस क्षेत्रको विकासले मात्रै आर्थिक समृद्धि आउँछ भन्ने कुरा सबैले महशुस गरेर ठूला लगानी यस क्षेत्रमा आउन थालेका छन् । छिमेकी राष्ट्रहरुको पनि सहयोग मिल्न थालेको छ, यो गर्वको विषय हो ।’
मन्त्री खड्काले नागरिकको घरमा लोडसेडिङ नहुने बताउँदै विद्युत प्राधिकरणको आर्थिक अवस्था त्यत्ति राम्रो नरहेको भएपनि प्रचुर मात्रामा सुधार गर्नसक्ने ठाउँहरु रहेको बताए । एशियाकै उत्कृष्ट दक्ष इन्जिनियर विद्युत प्राधिकरणको कार्यकारी निर्देशक रहेको भन्दै आर्थिक सुशासन कायम गरेर लोड सेडिङ हुन नदिनकन जलविद्युत क्षेत्रको विकास गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्