काठमाडौं । महाप्रसाद अधिकारीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकको गभर्नर पदको कार्यकाल समाप्त भएको अधिकारीले आज (चैत २६ गते) सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
२०८१ साल चैतसम्ममा उनको कुल सम्पत्ति ३ करोड ६९ लाख ३६ हजार २६२ रुपैयाँ पुगेको छ । २०७६ साल चैतमा उनको कुल सम्पत्ति ३ करोड ४५ लाख ९१ हजार ८५२ रुपैयाँ रहेको थियो । अधिकारीको सम्पत्ति ५ वर्षको अवधिमा २३ लाख ४४ हजार ४१० रुपैयाँले बढेको हो । यो कुल सम्पत्ति डलर खातामा रहेको पैसा बाहेक रहेको सार्वजनिक विवरणमा उल्लेख छ ।
२०८१ चैतसम्म वाणिज्य बैंकको अधिकारीको डलर खातामा २८ हजार ६०८ डलर रहेको छ । २०७६ चैतसम्म अधिकारीको डलर खातामा २ हजार ३०२ डलर रहेको थियो । सार्वजनिक विवरणअनुसार अधिकारीसँग ३२ लाख रुपैयाँ मूल्यांकनको घर र १ करोड ८ लाख ५१ हजार रुपैयाँ मूल्यांकनको १० कित्ता जग्गा रहेको छ ।
२०८१ साल चैतसम्म अधिकारीसँग ९ लाख ८८ हजार रुपैयाँ बराबरको नगद, सुन र चाँदी रहेको छ । २०७६ साल चैतसम्म अधिकारीसँग ५ लाख ३ हजार रुपैयाँ बराबरको नगद, सुन र चाँदी रहेको थियो ।
अधिकारी राष्ट्र बैंकबाट बिदा भएपछि सरकारले डेपुटी गभर्नर निलम ढुंगेल तिम्सिनालाई कामु गभर्नरको जिम्मेवारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्