काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले पाँच बर्ष भित्र विपद् उत्थानशिल नेपाल बनाउने प्रतिवद्धता जनाएका छन् । नेपाल बहुप्रकोपिय विपद्को जोखिममा रहेकाले विपद् उत्थानशिल बनाउन कार्य ढाँचालाई नै परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको पनि उनले उल्लेख गरे ।
मंगलबार कार्यकारी प्रमुखको पदभार सम्हालेका भट्टले बुधबार आफू ‘डिजास्टर रेजिलेन्स नेपाल’ बनाउने अभियानमा प्रतिवद्धत रहेको बताएका हुन् । प्राधिकरणलाई स्थानीय तहसम्म बलियो बनाउने गरी आफूले काम गर्ने पनि उनले स्पष्ट पारे । स्थानीय सरकारलाई बलियो बनाउन टोल टोलमा स्वयंसेवक तयार गर्न प्राधिकरणले शुरु गरेको कामलाई बिस्तार गर्दै लैजाने पनि उनले बताए ।
ऐनले निर्देशन गरेको र दिएको अधिकारक्षेत्रभित्रै रहेर आफूले संयोजनकारी भुमिका निर्वाह गर्ने पनि उनले उल्लेख गर्दै उनले भने, ‘ऐनले प्राधिकरणलाई अधिकार दिएको छ । नियमावलीले पनि दिएको छ । केही कुरामा गृह मन्त्रालयको मार्फत भन्ने शब्द छ । त्यो हुँदा कोर्डिनेशन ढिलो हुने र कोर्डिनेशन ढिलो हुँदा परिचालन ढिलो हुने स्थिति छ । त्यसका लागि नीतिमा, ऐनमा भएको कुरालाई व्यवहारमा कार्यान्वयन गर्ने भनेको कतिको उनीहरुसँग कोर्डिनेशन गर्नुहुन्छ, कतिको एप्रोच छ रु त्यसमा पनि पहल गर्नेछौँ । २०२९ सम्म नेपाललाई डिजास्टर रेजिलेण्ट नेपाल बनाउने मिसनका साथ म आएको छ । हामीले धेरै सेक्टरमा काम गर्नुछ । बिहान, राति, दिउँसो नभनिकन काम गर्नुपर्ने ठाउँ हो यो । म पूरै मेहनत गर्नेछु । स्थानीय सरकारलाई बलियो बनाउँछु, टोलमा स्वयंसेवक तयार पार्ने काम गर्छु ।’
आफूले विपद् पूर्वतयारीको विषयलाई प्राथमिकतामा राखेर काम अघि बढाउने उहाँले उल्लेख गरे । उनले आवास पुन:निर्माणको कामलाई सिधै लाभग्राहीको खातामा रकम जम्मा हुनेगरी काम गर्ने पनि बताए ।
उनले भने, ‘विपद् न्युनिकरणमा धेरै काम गर्न सकिएको छैन । जहिले पनि हामी चेपुवामा भएको देशमा छौँ । डिजास्टर भइसकेपछि राज्यले थाहा पाउने, रेस्क्यु गर्ने र अस्थायी बसोवास गर्ने अप्रोचमा हामी थियौ । बिस्तारै पूर्वतयारीमा जानुपर्छ । यो अप्रोचमा काम गर्ने हो । केही मात्रामा पूर्वतयारीका कामहरु भएका छन् । हामीले गोरखा भुकम्पको पुन:निर्माण सम्पन्न गरेका छौँ । तर केही मात्रामा अझै पनि पुरातत्विक महत्त्वका संरचना बन्न बाँकी छ । विपद् त आउँछ, विपद्का कारणले हुने क्षति रोक्ने हो । त्यसका लागि पूर्वतयारीमा ध्यान दिनुपर्छ । पूर्वतयारीका सन्दर्भमा हामीले सोच्दा स्थानीय बासिन्दा हो ।’
‘खतरा भएको ठाउँमा हुनसक्ने क्षति न्युनिकरण गर्न पूर्वतयारी गर्नुपर्छ । स्थानीय सरकारले टोलस्तरमा नै पूर्वतयारीका लागि एउटा टिम गठन गरेर अघि बढ्ने हो भने पूर्वतयारीको काम सम्पन्न हुन्छ । स्थानीय सरकारलाई बलियो बनाउनु पर्छ । पूर्वतयारीका हिसावमा स्थनीयमा भएको पनि टोललाई बलियो बनाउनु पर्छ । बजेट केन्द्रले चलाउने होइन । सरकारले प्राविधिक सहयोग गर्ने हो, घर कसैको भत्किएको छ भने व्यक्तिकै खातामा पैसा पठाउनुपर्छ । त्यसले आफ्नो घर आफैँ बनाउँदा बलियो बनाउँछ । लाभग्राहीकै खातामा पैसा जाने गरी पुन:निर्माणको प्रक्रियामा जानुपर्छ । तर क्षति नै हुन नदिनका लागि हामीले काम गर्नुपर्छ’ उनले बताए ।
भट्टलाई सोमबार बसेको मन्त्री परिषद् बैठकले प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्ति गरेको हो । उनले हिजो मंगलवार नै आफ्नो कार्यभार सम्हालिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्