काठमाडौं । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजनीतिक दलहरु जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पृथ्वीनारायण शाहदेखि विभिन्न प्रणालीको राजतन्त्र नेपाली जनताले व्यहोरेको बताए ।
राजाहरुले नेपाली जनताको अधिकार खोसेर शासन चलाएको उनको भनाइ छ । उनले राजतन्त्रको विभिन्न दुष्परिणामका कारण गणतन्त्र स्थापना भएको बताए । उनले विश्वको सबैभन्दा उन्नत राजनीतिक प्रणाली संघीय गणतन्त्र भएको दाबी गर्दै जनताले कुनैपनि प्रणालीको राजतन्त्र नचाएको भन्दै राजतन्त्र पुन:स्थापित नहुने जिकिर गरे ।
उनले भने, ‘हामीले ल्याएको प्रणाली कसैले दानमा दिएको होइन, नेपालमा हामीले संघीयता र गणतन्त्रको प्रणाली सार्वभौम जनताको अधिकार प्रयोग गर्नका लागि ल्याएका छौँ । नेपालमा हामीले थरीथरीका राजतन्त्र हेरिसकेका छौँ । पृथ्वीनारायण शाहको राजतन्त्रको मोडल पनि हेरोका छौँ, त्रिभुवन राजाको मोडल पनि हेरोका छौँ । बालक ज्ञानेन्द्रको राजतन्त्रको मोडल पनि हेरेका छौँ । त्यसपछि वीरेन्द्र र ज्ञानेन्द्रको पटक पटक अधिकार खोसेर गरेको मोडल पनि हेरोका छौँ । राजनीतिको उन्नत प्रणाली गणतन्त्र ल्याएको छौँ । संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै राजनीतिक दलहरु प्रतिवद्ध छौँ र कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किदैन, त्यो अवस्था छैन । जनताले कुनैपनि मोडलको राजतन्त्र चाहेको छैन । यसका लागि हामी जे पनि गर्न तयार छौँ ।’
सांसद निधीले संविधान संशोधन गरी प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए । संघीयतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न तत्काल संघीय कानून निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्