काठमाडौं । सोमबार उपत्यका अपराध अनुसन्धान महाशाखाले समातेको २५ करोड विदेशी मुद्राको सुराकी दिने व्यक्तिले ५ करोड रुपैयाँ पुरस्कार पाउने भएको छ । विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार ५ करोड सुराकी खर्च पाउने भएको हो ।
ऐनको दफा २० मा खबर गरेमा इनाम दिने भन्ने व्यवस्था छ । जसमा ‘यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम, विनियम, आदेश, सूचना, निर्देश, इजाजत वा इजाजतपत्रको विपरीत विदेशी विनिमय सम्बन्धी अपराध गरेको कुराको सुराक कुनै व्यक्तिले नेपाल सरकार वा नेपाल सरकारबाट अधिकार प्राप्त अधिकारी समक्ष दिइ त्यसरी दिएको सुराकको आधारमा विदेशी विनिमय पक्राउ भई अपराध प्रमाणित हुन आएमा त्यसरी पक्राउ भई आएको विदेशी मुद्रालाई नेपाली मुद्रामा परिणत गर्दा कायम हुन आएको बिगोको सयकडा बीस प्रतिशत त्यस्तो सुराक दिने व्यक्तिलाई इनाम दिइनेछ । (२) उपदफा (१) बमोजिम दिइने इनामको रकम मुद्दाको अन्तिम टुङ्गो लागेपछि पक्राउ भएको विदेशी मुद्रालाई नेपाली मुद्रामा परिणत गरी हुन आउने रकमबाट दिइनेछ ।’ भनि उल्लेख छ ।
यो व्यवस्था बमोजिम सोमबार राती बरामद गरेको विदेशी मुद्रा कुल २५ करोड १ लाख ६० हजार ३ सय ३८ रुपैयाँको २० प्रतिशतले हुन आउने रकमको ५ करोड ३२ हजार ६७ रुपैयाँ सुराकी वापतको रकम प्राप्त हुनेछ । तर यो रकम प्रतिवेदकलाई भने प्राप्त हुने छैन । राजस्व चुहावटको विषयमा भने प्रतिवेदकलाई समेत दामासाहिले सुराकीको रकम प्राप्त हुने व्यवस्था छ । विदेशी विनिमय अपचलनमा भने सुराकीले मात्रै सो रकम प्राप्त गर्नेछ ।
सुराकीले प्राप्त गरेको पुरस्कार रकममा २५ प्रतिशत कर लाग्ने व्यवस्था छ । जसअनुसार सुराकी वापतको रकममा १ करोड २५ लाख ८ हजार १६ रुपैयाँ राजस्व तिर्नुपर्ने हुन्छ ।
विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार सुराकीले इनाम पाउने राजस्व अनुसन्धान विभागका एक निर्देशकले बताए । ती निर्देशकले सिंहदबारसँग भने, “विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ को दफा २० अनुसार कुल रकमको २० प्रतिशत रकम सुराकी दिने व्यक्तिले प्राप्त गर्नेछ, तर प्रतिवेदकले भने पाउदैन ।”
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले राजधानीबाट करिब रु २५ करोड २२ लाख ४५ हजार बराबरको विदेशी मुद्रा बरामद गरेको थियो । राष्ट्र बैङ्कले आज (मंगलबार चैत ५ गते)का लागि निर्धारण गरेको विदेशी मुद्रा विनिमय दरअनुसार उक्त मूल्य बराबरको विदेशी मुद्रा बरामद गरेको हो ।
ठूलो परिमाणमा अमेरिकी डलरसहितका विदेशी मुद्रा राजस्व छली गरी ओसारपसार तथा कारोबार गरेको सूचनाका आधारमा कार्यालयबाट खटिइएको टोलीले सोमबार बेलुका टोखा नगरपालिकास्थित झोरबाट उक्त रकम बरामद गरेको हो ।
ना७ख १६५१ नंको मालवाहक ट्रकको चालक बस्ने ठाउँमा ‘फल्सबटम’ बनाई लुकाईछिपाई ल्याएको अवस्थामा सवारी चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका ४३ वर्षीय कुसाङ लामासहित पक्राउ गरिएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
बरामद गरिएको विदेशी मुद्रामा अमेरिकी डलर एक सय दरका तीन हजार ११९ थान, अमेरिकी डलर ५० दरका १७९, युरो ५०० दरका ११ थान, युरो २०० दरका ४८०, युरो १०० दरका चार हजार १४८ थान, युरो ५० दरका १७ हजार १७७ थान रहेको कार्यालयले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
बरामद गरिएका विदेशी मुद्रासहित निजलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्