काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उपभोक्ताका मुद्दा सरकारले सित्तैमा लड्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद सुवालले यस्तो बताएका हुन् ।
उनले बिलबिना उपभोक्ता अदालतमा उजुरी दिन नपाइने भएको कारण अनिवार्य बिल दिनुपर्ने व्यवस्था गर्न समेत माग गरे । उनले मुलुकमा सन्तुलित विकास नहुँदा गाउँको बस्ती प्रदेश र संघको राजधानीमा स्थानान्तरण भइरहको बताए ।
उनले जिल्लाभित्र मात्र बसार्इंसराई गर्न पाउने कानून बनाउन जरुरी रहेको समेत बताउँदै मोबाइल लगायतका प्राविधिक उपकरणहरु देशभित्रै उत्पादन गर्ने प्रबन्ध मिलाउनका लागि नयाँ पुस्तालाई उचित शिक्षा दिनुपर्ने समेत बताए ।
उनले भने, ‘बिना बिल उपभोत्ता अदालतमा उजुरी दिन नपाइने हुँदा अनिवार्य बिल लिने दिने व्यवस्थामा सरकारको पहल हुनु जरुरी छ । उपभोक्ताको मुद्दा सरकारले सित्तैमा लडिदिनु आवश्यक छ । गाउँगाउँमा सडक पुग्यो, हातहातमा मोबाइल तर सन्तुलित विकास नहुँदा गाउँका बस्ति प्रदेश र संघको राजधानीमा स्थानान्तरण भइरहेको छ । नेपालमा मोबाइल मर्मत हुने हुदैन । बसाई सराई जिल्लाभित्र मात्र हुन पाउने कानून बनाएर देशको सन्तुलित विकास गर्न र मोबाइल लगायत आईटी उपकरण नेपालमै निर्माण गर्नको लागि नयाँ पुस्तालाई शिक्षा प्रदान गर्नु जरुरी छ । जनताका प्रतिनिधि र सरकारका अधिकारीहरु आफ्नो आफ्नो जिल्लामा बसेर देशको सन्तुलित विकास गर्न जरुरी छ ।’
जनता प्रतिनिधि एवं सरकारका अधिकारीहरु आ—आफ्नो जिल्लामा बसेर देशको सन्तुलित विकासमा टेवा पुगाउन जरुरी रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्