तम्घास । चन्द्रकोट गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई अनुदान दिनेभएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार पालिकाभित्र हल गोरु पाल्ने किसानलाई प्रतिकिसान ३ हजारका दरले अनुदान दिने जनाएको छ ।
अनुदान दिनका लागि पालिकाले दुई सय ५८ किसान छनोट भएका छन् । जसअनुसार वडा नं १ मा २४, वडा नं २ मा ३४, वडा नं ३ मा नौ, वडा नं ४ मा ३९ तथा वडा नं ५ मा ६९ जना छन् । त्यसैगरी वडा नं ६ मा ३१, वडा नं ७ मा १४ र वडा नं ८ मा ३८ जना किसान छनोट भएको गाउँपालिकाका सूचना अधिकारी शिव ज्ञवालीले जानकारी दिए ।
अनुदानका लागि पालिकाले आवेदन खुलाएको थियो । जसमध्ये पालिकाले अनुगमन गरेपश्चात् कम्तीमा दुई वटा अर्थात् एक हल गोरु पाल्ने किसानलाई छनोट गरेको ज्ञवालीले जानकारी दिए । अनुदानको रकम सम्बन्धित वडाबाट वितरण गरिनेछ ।
गाउँपालिका अध्यक्ष युवराज केसीले विविधतायुक्त कृषि प्रणालीलाई सहयोग गर्न अनुदान दिन थालिएको बताए । ‘समथर र ठूला खालका जग्गामा यन्त्र उपकरण दिइएको छ’ उनले भने ‘भिराला जग्गामा गोरुकै काम हुने भएकाले अनुदान दिन थालेका हौँ ।’
प्रतिक्रिया दिनुहोस्