सङ्खुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्घीयतासहितको गणतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था नरहेको बताएका छन् । यहाँको चैनपुर नगरपालिका–११ लोहाकोटमा निर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै आज उहाँले सङ्घीयताले देशको सुन्दर पक्ष उजागर गरेको बताएका हुन् ।
उनले संसदका दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार बनेकाले यो सरकारलाई अल्मलिएर बस्ने छुट नभएको स्पष्ट पार्नुभयो । मुलुकको राजनीतिक स्थायित्वका लागि सरकार गठन भएको उनको भनाइ थियो ।
‘मुलुकमा राजनीतिक परिवर्तन ल्यायौँ, अब आर्थिक परिवर्तन गरेर समृद्ध नेपाल निर्माणमा अगाडि बढ्नुछ,’ उनले भने । मन्त्री खड्काले सङ्खुवासभा अथाह सम्भावना बोकेको जिल्ला भएकाले यहाँका स्रोत साधनको उचित प्रयोग गरेर समृद्ध जिल्ला निर्माणमा लाग्नुपर्ने बताए ।
उनले जनताको जलविद्युत कार्यक्रममार्फत गरिबीको रेखा मुनिका जनतालाई स्रोतमाथिको अधिकार सुनिश्चित गर्न प्रत्येक घरधुरीलाई आयोजनाको क्षमता हेरेर २ लाखदेखि पाँच लाखसम्म विना धितो जलविद्युतको शेयरका लागि सहुलियत दरमा ऋणको व्यवस्था गरिने बताए ।
प्रतिक्रिया दिनुहोस्