काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिको विषयमा संसदमा प्रश्न उठेको छ । सरकारले बिचौलियाको सेटिङमा धमाधम नियुक्ति दिएको भन्दै आलोचना बढेको हो ।
मंगलबार (फागुन २७ गते) प्रतिनिधि सभामा संबोधन गर्दै प्रतिपपक्षि दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका मन्त्रीहरुले विगत ८ महिनामा कुनैपनि नियुक्ति आफ्नो बलले गर्न नसकेको बताए । प्रचण्डले भने, “‘अहिले सरकारमा बसेका साथिहरुले बडो घमण्ड गरेको देख्छु, सरकारले यो गर्यो, त्यो गर्यो भनेर । मैले त्यति बेला भनेको थिए, अहिले पनि जोड दिएर भन्छु, सरकारको दुई तिहाईको घोडा मन्त्री र प्रधानमन्त्रीले चलाएको मैले देखेको छैन्, त्यो घोडा बिचौलियाहरुले चलाएका छन् । तपाईहरुले गर्ने नियुक्ती, तपाईहरुले गर्ने सेटिङ, तपाईहरुले गरेको देख्दिन । त्यो बिचौलियाहरुले गरेका छन् । बिचौलियाहरुले गरेको निर्णय अनुसार हुने गरेको देखेको छु । म चुनौतीका साथ भन्न चाहान्छु, पछिल्ला आठ महिनामा एउटै नियुक्ती र एउटै नीति मलाई भनिदिनुस्, जसका पछाडी बिचौलिया छैन् । जम्मा एउटा उदाहरण दिए पनि हुन्छ । तपाईहरुका बैठक, समिति र संयन्त्रहरु नाटक जस्ता मात्रै देखिन्छन् । सत्ताको ड्राइभिङ सिटमै आज बिचौलिया छ । मेरो नेतृत्वको सरकार किन हट्यो भन्ने व्याख्या मैले पहिले नै गरिसकेको छु । सत्ताको ड्राइभिङ सिटमै बिचौलिया छन् । बिचौलियाको आँट र भरोसाले नै आज इमान्दार व्यवसायीलाई बिचलित बनाएको छ । भोली तपाईहरु नै बिचलित हुनु हुनेछ ।”
प्रचण्डले सरकारलाई बिचौलियाको सेटिङमा काम गरेको आरोप लगाएपछि सरकारको बचाउमा गगन थापाले बोलेका छन् । नेपाली काँग्रेसका महामन्त्री थापाले सरकारले गर्ने नियुक्तिहरुमा प्रश्न उठ्ने गरेको स्वीकार गरे । महामन्त्री थापाले आफूहरुले राष्ट्र बैंकको गभर्नर नियुक्तिलाई पनि नजिकबाट हेरिरहेको बताए ।
उनले भने, “सरकारले कानुनहरु निर्माण गर्दै गर्दा त्यसको लाभ सबैले लिनुपर्छ, त्यो लाभ सिमित व्यक्ति र समहुले मात्रै लिनु हुँदैन । सरकारका निर्णयहरप्रति पटक-पटक प्रश्न उठेको छ । अस्ति माननिय उपप्रधानमन्त्री ज्यू (विष्णुप्रसाद पौडेल)ले एउटा जिम्मा लिएर भन्नु भएको छ तर जिम्मा लिदै गर्दा एउटा कुराको ख्याल गर्नुपर्छ । संसदले पनि हेरिरहेको हुन्छ हामी सबैले हेरिरहेका हुन्छौं, हामी गभर्नरको नियुक्ति नजिकबाट हेरिहेका हुन्छौं, आइजीपीको नियुक्ति नजिकबाट हेरिरहेका हुन्छौं । को व्यक्ति भयो को व्यक्ति भएन यति सानो मुलुक छ सबैलाई थाहा हुन्छ ।”
अर्थ मन्त्रालयले फागुन २१ गते बसेको मन्त्रिपरिषद बैठकमा गभर्नर छनौट समिति बनाउने प्रयास गरेको थियो । सो बैठकमा नेपाली काँग्रेसका मन्त्रिहरुले तीन सदस्यमा काँग्रेसको मान्छे पनि सहभागी हुनुपर्ने बताएपछि समिति बन्न सकेको छैन ।
गभर्नर नियुक्तीले ओली–देउवाबीच फाटो, सिफारिस समितिमै भाग खोजेपछि ‘झस्किए’ ओली
प्रतिक्रिया दिनुहोस्