काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले संघीयता मन नपराउनेहरुले सरकारको कुशासनको फाइदा उठाएर अहिले व्यवस्था बिरोधी अभियान चलाएको आरोप लगाएको छ । सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो आरोप लगाएको हो ।
पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा आईतवार जम्मा भएको भीडप्रति लक्षित गर्दै माओवादीले सरकारका नराम्रा कामहरुको फाइदा उठाएर व्यवस्थाबिरोधीहरुले अभियान सञ्चालन गरेको आरोप माओवादीको छ ।
बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा तराई/मधेस अभियानको प्रारम्भिक समीक्षा, वर्तमान राष्ट्रिय राजनीति परिस्थिति र स्ववियु निर्वाचनको बारेमा छलफल भएको बताए । उनले अभियानले झापादेखि रौतहटसम्म आइपुग्दा जनतामा नयाँ खालको जागरण पैदा गरेको दाबी गरेका हुन् ।
उनले माओवादी नै परिवर्तनको संवाहक भएको दाबी गर्दै केही समय जनताप्रति बेवास्ता भएको कुरा स्वीकार गरेपछि पार्टीप्रति जनता धेरै आकर्षित र आशावादी रहेको जिकिर गरे । जनताका अपेक्षा, आशा पूरा गर्न हामी सदन, सडकमा प्रभावकारी बनाउने पनि निर्णय भएको बताए ।
माओवादीले सरकार सबैखाले काममा अहिले असफल भएको निस्कर्ष निकालेको छ । —न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्