Shikhar Insurance
National Life

९ दिनमै भत्कियो ७ दिनमा बनेको १७ लाखको कल्भर्ट

सिंहदरबार संवाददाता
२०७८ श्रावण ३, आईतवार १९:५५
Hyundai
NCELL
NIMB

उर्लाबारी । सधैं सुशासनका भाषण गरेर नथाक्ने उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले योजना सम्पन्न नगरीकन रकम निकासा गरिदिएको खुलासा भएको छ । मोरङको उर्लाबारी–१ मेचेडाँगीमा निर्माण भएको कल्भर्ट निर्माण सम्पन्न नभई गत असार २४ गते आएको बाढीले भत्कायो । असार ७ गते सम्झौता भएर १५ गते निर्माण सम्पन्न भएको कल्भर्ट गुणस्तरहीन सामग्री प्रयोग गरेर बनाएको स्थानीयको भनाई छ ।

मेचेडाँगीबाट १ नम्बर वडा कार्यालय जाने सडकको बिकासे पैनीमा निर्माण भएको कल्भर्ट यति बेला दुबै तर्फको सडकसँग सम्पर्क बिहीन बनेको छ । उप मेयर लक्ष्मीदेबी भण्डारीले कल्भर्टको अनुगमन गरेर रकम निकासा रोक्ने प्रयास गरेपनि मेयर फागोसँग निकट निर्माण कम्पनी भएकोले निकासा नरोकिएको बताइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मध्य वर्षायाममा कल्भर्ट निर्माण नगर्ने स्थानीय बासिन्दाको अनुरोधलाई बेवास्ता गर्दै नगरपालिकाले काम सुरु गरेको स्थानीय नरेन्द्र पौडेलले बताए । उनले भने, “वर्षामास काम गर्न सकिन्न । छिनको छिनमा बाढी आउँछ । विगतमा पनि बाढीले कल्भर्ट बगाएपछि नगरले यो वर्ष बिग्रेको कल्भर्ट निर्माण योजना भनेर कल्भर्ट निर्माणको ठेक्का लगाएको हो ।” कल्भर्ट निर्माण गर्दा ठेकदारले जमीन मुनि ४ फिट पनि आरसीसी नगरेको स्थानीयको भनाई छ । “कल्भर्ट जमीन माथि टक्रक्क राखिएको छ । दुई सुताका रड लगाएर कल्भर्टको पङ्खा जोडिएको छ,” स्थानीयले भने, “ठेकदारसँग हामीले राम्रो काम गरिदिनु भनेर याचना गर्‍यौं । तर, हामीलाई उल्टो थर्काए ।”

कल्भर्ट १७ लाख ३५ हजार ६५९ रुपियाँ ६२ पैसामा अग्नी एन्ड सन्स निर्माण सेवाले निर्माण गरेको हो । नगरको आयोजना बोर्डमा उल्लेख भए अनुसार २०७८ को असार ७ गते योजनाको सम्झौता भएको हो ।

सात दिन अर्थात असार १५ गते योजना सम्पन्न भएको थियो । योजना सम्पन्न भएको ९ दिनपछि असार २४ गते राति आएको बाढीले कल्भर्ट भत्काएको छ । कल्भर्र्टको दुवै तर्फको सडकको भाग बगेपछि अहिले सो सडक अवरुद्ध भएको छ ।

सात दिनमा कल्भर्ट बनाए पनि निर्माण कम्पनीले नगरबाट पैसा लगेको नगर उप प्रमुख लक्ष्मीदेवी भण्डारीले बताइन् । भण्डारीका अनुसार जति काम भएको छ, त्यतिको मात्र पैसा दिइएको हो । बाँकी काम गर्न असोज मसान्तसम्म म्याद थपी पैसा दिइएको उनले बताइन् । तर, नगरपालिका स्रोतका अनुसार ३० हजार रुपियाँ मात्र ठेकदारले लैजान बाँकी छ । कल्भर्ट निर्माण सम्पन्न गर्न अझै ३ लाख बढी रकम आवश्यक पर्ने स्थानीयको भनाई छ ।

उता सोही वडाको हिले डाँगीमा निर्माण भएको अर्को कल्भर्ट निर्माण सम्पन्न नहुँदै भत्किएको छ । मध्यवर्षामा छिटो छिटो काम गर्दै बजेट सक्ने परिपाटीले उर्लाबारीका अधिकांश योजना सम्पन्न हुन नसकेको उप प्रमुख भण्डारीले बताइन् । उनले भनिन्, “धेरै जसो योजनाको म्याद असोज मसान्त सम्म थपिएको छ । अनुगमन गरेर भएको कामको मात्र पैसा दिएका छौं ।” गत आर्थिक वर्षमा नगरको गौरवको आयोजना भनेर घोषणा गरिएका दुई वटै आयोजनाको काम सुरु सम्म हुन सकेन ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्