काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालका माओवादीहरुले जनयुद्ध बेचेर खाइसकेको टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राजतन्त्र माओवादीले रुकुम, रोल्पाबाट हुँकार गरेर, सिंहदरबार कब्जा गरेर, नारायणहिटी कब्जा गरेर, नेपाली सेनालाई पराजित गरेर नआएको बताए । उनले मुलुकमा जनताको बहुदलीय जनवादकै बाटोबाट क्रान्ति सम्पन्न भएको बताए । उनले २०६५ साल जेठ १५ गते ६०१ जना सांसदमध्ये ५९६ जना प्रतिनिधिले भोट गरेर राजतन्त्र फालिएको बताए ।
शान्तिपूर्ण ढंगले मुलुकमा क्रान्ति सम्पन्न भएको कुराले माओवादीको जनयुद्ध गलत थियो भन्नेकुराको पुष्टि भएको जिकिर गरे । उनले माओवादी हिंसा भन्ने शब्दबाट डराएर किन भागिरहेको छ ? भन्दै प्रश्न गरे ।
जुन कम्युनिष्ट पार्टीको हातमा हतियार हुँदैन त्यो कम्युनिष्ट पार्टी हुँदैन भन्ने माओवादी अहिले कम्युनिष्ट पार्टी हो की होइन ? भन्दै प्रश्न गरे । मओवादी केन्द्र नाम राखेको भएपनि माओवाद सही हो भनेर भन्न नसकेको बताए ।
नेपालमा माओवादीका नेताहरु उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री बनेपनि संसारका माओवादीहरु अहिले पनि मरिरहेको बताउँदै क्रान्तिको नाममा माओवादीले गरेको हत्या, हिंसा, बर्बरता, क्रुरता आतंकवाद भएको जनाए ।
मन्त्री गुरुङले भने, ‘२०६५ साल जेठ १५ गते पहिलो संविधान सभाको पहिलो बैठक बसेको थियो । त्यो पहिलो बैठकले मुलुकमा अब राजतन्त्र चाहिँदैन भनेर निर्णय गरेको हो । राजतन्त्र माओवादीले रुकुमबाट वा रोल्पाबाट हुँकार गरेर, सिंहदरबार कब्जा गरेर, नारायणहिटी कब्जा गरेर, नेपाली सेनालाई पराजित गरेर क्रान्ति सम्पन्न भएको होइन, यो मुलुकमा । यो मुलुकमा जनताको बहुदलीय जनवादकै बाटोबाट क्रान्ति सम्पन्न भएको हो ।’
‘हाम्रो पार्टीको नीति जनताको बहुदलीय जनवादको क्रान्तिको पाटो सही थियो भन्नेकुरा पुष्टि हुन्छ । माओवादी हिंसा भन्ने शब्दबाट डराएर किन भागिरहेको छ ? माओवाद भन्ने शब्दबाट किन डराएर भागिरहेको छ । जनयुद्ध त उनीहरुले बेचेर खाइसके । जुन कम्युनिष्ट पार्टीको हातमा हतियार हुँदैन त्यो कम्युनिष्ट पार्टी हुँदैन । एमाले संसदीय दलदलमा फसिसक्यो, एमाले कम्युनिष्ट पार्टी होइन । मलाई कम्युनिष्ट होइनन् भनेर एक जनाले सर भन्थे । तर आज उहाँहरुसँग सेना छैन, उहाँहरु कम्युनिष्ट पार्टी हो की होइन ? हामीले त भनेका थियौँ, सेना बनाउने कुरा, हतियार उठाउने कुरा समाज र परिस्थिति अनुसार हुन्छ’ उनले भने ।
मन्त्री गुरुङले माओवादीको औचित्य अहिलेको विश्वमा समाप्त भएको बताए । माओवादीले जनयुद्धका नाममा गरेको हत्या, हिंसा राजनीतिक मुद्दा नभएको जिकिर गरे ।
माओवाद मानिरहने शक्तिले संसदीय प्रणालीमा भाग लिनेकुरा नैतिक सिद्धान्तअनुसार नहुने बताए । माओवादीको जनयुद्धको पाप धुरीबाट कराइरहेको टिप्पणी गरे । मुलुकलाई सभ्य बनाउन असभ्य कुराहरुको नियमन जरुरी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्