Shikhar Insurance
National Life

पोखरामा नेपाल, भारत, चीन प्रदर्शनी: अन्तर्राष्ट्रिय पर्यटन र व्यापारमा नयाँ अवसर

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १६, शुक्रबार १३:३८
Hyundai
NCELL
NIMB

पोखरा । पर्यटन राजधानी पोखरामा पहिलोपल्ट आयोजना भएको नेपाल, भारत, चीन प्रदर्शनी, २०२५ नेपाललाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने नयाँ अवसर भएको सरोकारवालाले बताएका छन् ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अगुवाइ ‘नाइस फर माइस एण्ड मोर’ भन्ने नारासहित पर्यटकीय सहर पोखरामा सम्पन्न तीनदिने प्रदर्शनीले तीन देशको पर्यटन उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने महत्त्वपूर्ण अवसर उपलब्ध गराएको पाटाका सदस्य तथा कार्यक्रम संयोजक सुनीलबहादुर भट्टराइले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘तीन देशका व्यवसायी र उद्योगलाई एकै स्थानमा ल्याएर व्यापारिक सम्बन्ध विस्तार गर्ने एउटा राम्रो अवसर मिल्यो र कार्यक्रम उद्देश्यअनुसार नै सफल भयो’, उनले प्रदर्शनीभर व्यापार सम्झौता र नयाँ साझेदारीको नवीनतम सोच र प्रदर्शन भएको बताए ।

प्रदर्शनीबाट महत्त्वपूर्ण सञ्जाल विस्तार र साझेदारीको अवसर प्राप्त गरेको उनको भनाइ थियो । तीन देशका उद्योगलाई आर्थिक सञ्जालको सुदृढीकरण गर्दै, व्यापार र लगानीको नयाँ अवसर सिर्जनाका लागि थप सहजता प्रदान गरेको उनले उल्लेख गरे ।

पाटाका सदस्य दिनेश महर्जनले प्रदर्शनीमा ८५ भन्दाबढी अन्तर्राष्ट्रिय खरिदकर्ता, एक सय ५० बिक्रेता र ७५ अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी रहेको बताए । साथै त्यसअवसरमा छ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी थिए ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरा अब अन्तर्राष्ट्रिय व्यापारिक तथा पर्यटन प्रदर्शनीको केन्द्र बन्दै गएको बताए । ‘ँयस प्रदर्शनीले नेपालमा पर्यटक सङ्ख्यामा वृद्धिसँगै व्यापारिक अवसरहरू सिर्जना गरेको छ’, उनले भने, ‘हामीले पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरेका छौँ, अहिले विभिन्न कार्यक्रमले पोखराको पर्यटकीय गतिविधि चलायमान भएको छ ।’

उनले छिमेकी मुलक भारत र चीनका पर्यटकलाई नेपाल भित्र्याउन सके नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन सकिने धारणा राखे । उनले भने, ‘पोखरा भ्रमण वर्ष सफल पार्न माइस पर्यटनमा महानगरले जोड दिएको छ । यो प्रदर्शनीले यसलाई थप मजबुत बनाएको छ ।’

उनले पोखरा प्राकृतिक सुन्दरतासँगै अन्तर्राष्ट्रिय कार्यक्रमहरु आयोजना गर्ने सम्भावनालाई थप्दै लगेको र यसले नयाँ लगानी भित्र्याउने, पर्यटन पूर्वाधारको विकास गर्ने र रोजगारी सिर्जना गर्ने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारनाथ पहारीले यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूले पोखराको पर्यटन अर्थतन्त्रलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा टेवा पुर्‍याउने बताए ।

उनले भने, ‘पोखराको विशेषतालाई उजागार गरेर पर्यटन प्रवर्द्धन गर्ने हामी लागेका छौँ, यस प्रदर्शनीले पोखरालाई विश्वव्यापी पर्यटन केन्द्रका रूपमा स्थापित गर्न मद्दत गर्नेछ ।’

उनले यस कार्यक्रमले आउने दिनमा अन्तर्राष्ट्रिय उडान विस्तार, पूर्वाधार सुधार र पर्यटनसम्बन्धी विभिन्न क्षेत्रमा दीर्घकालीन फाइदा पुग्ने बताए । स्थानीय व्यवसाय, होटल–रेस्टुरेन्ट, ट्राभल एजेन्सी, साना तथा ठूला उद्यममा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।

कार्यक्रममा ‘भिसा सहजीकरण, दिगो पर्यटन र आतिथ्य सेवा’ जस्ता विषयमा विज्ञहरूसँग अन्तरक्रिया गरिएको थियो । साथै, बी२बी बैठक, प्रदर्शनी र व्यवसाय सञ्जाल विस्तारका कार्यक्रमहरूले अन्तर्राष्ट्रिय व्यापार तथा पर्यटन प्रवर्द्धनलाई विषयलाइ प्राथमिकता दिइएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्