गोरखा । बारपाक सुुलिकोट गाउँपालिकाले आफ्नो कार्यक्षेत्रका अनाथ बालबालिकालाई आवासीय सुविधासहित नि:शुल्क पठनपाठनको व्यवस्था मिलाएको छ ।
गाउँपालिका–६ स्थित बाह्रकोटमा मनास्लु छात्रावास सञ्चालनमा गरेर अभिभावकविहीन बालबालिकालाई खानेबस्ने व्यवस्थासहित नि:शुल्क पठनपाठनको प्रबन्ध गरिएकोे गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए ।
‘चालु शैक्षिकसत्रदेखि पालिकाभित्र विद्यालय जान नपाएका अभिभावकविहीन बालबालिकालाई नि: शुल्क खान, बस्न र पठनपाठनको व्यवस्था गरेका छौँ’, उनले भने, ‘अहिले १९ जना अनाथ बालबालिका गाउँपालिकाले सञ्चालन गरेको छात्रावासमा अध्ययनरत छन् ।’
छात्रवासमा नौ जना छात्रा र १० जना छात्र छन् । उनीलाई कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिइने जानकारी दिँदै पालिका अध्यक्ष भट्टले भने, ‘बालबालिकाका लागि आवश्यक पर्ने केही लत्ताकपडा, किताबकापी, कलमलगायतका सामग्री इच्छुक दाताहरुबाट सहयोग लिने गरेका छौँ ।’
अनाथ बालबालिकालाई नि:शुल्क पठनपाठन तथा खानबस्नको व्यवस्थाका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १२ लाख विनियोजन गरेको थियो ।
छात्रवासमा दुई जना महिला कार्यालय सहयोगी, छात्रवास सुरक्षाका लागि सुरक्षाकर्मी र एक जना निरीक्षकको पनि व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्