Shikhar Insurance
National Life

प्रधानमन्त्री र अर्थमन्त्रीले निजीक्षेत्रसँग भनेः साथ दिनोस्, व्यवसाय र अर्थतन्त्र उकास्न गर्नुपर्ने सबै काम गर्छौं

सिंहदरबार संवाददाता
२०७८ असार ३१, बिहीबार १८:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डलले नवनियुुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मा “प्रभाकर” सँग सिंहदरवारमा छुट्टाछुट्टै भेटवार्ता गरेको छ । अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले थिलोथिलो भएको मुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रलाई माथि उठाउन तत्काल यो क्षेत्रलाई कोभिड खोपमा पहिलो प्राथमिकतामा राख्न, सरकारको बजेटमा समेटिएका निजी क्षेत्रका लागि ल्याइएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, साना तथा मझौला उद्यम व्यवसायलाई तत्काल स्टिमुलस प्याकेज ल्याउन र लामो समयदेखिको ट्रङक तथा डेडिकेटेड लाइनको समस्या समाधान गर्न जोड दिएको छ ।

वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई सहभागी रहेको भेटवार्तामा अध्यक्ष गोल्छाले कोभिडले थलिएको उद्योग व्यवसायलाई माथि उठाउन अनुरोध गरे । अर्थतन्त्रलाई टिकाउन अग्रभागमा रहेर काम गर्ने उद्योगी व्यवसायी र कामदार कर्मचारीलाई खोपमा अनिवार्य व्यवस्था गर्न महासंघले दुवै भेटवार्तामा आग्रह गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“सरकारको राजस्वको मुख्य स्रोत निजी क्षेत्र र निजी क्षेत्रद्वारा सृजना गरिएको उपक्रमबाट प्राप्त हुने आम्दानी नै हो,” भेटपछि गोल्छाले भने, “हामीले दिएका सुझाव बजेटमा पनि समेटिएका छन्, मौद्रिक नीतिका लागि पनि हाम्रा सुझाव दिएका छौं ।” तिनको प्रभावकारी कार्यान्वयन निजी क्षेत्रले चाहेक र त्यसमा सरकारबाट सहयोगको अपेक्षा गरेको गोल्छाले बताए ।

अबको एक दशकभित्र मुलुकको अर्थतन्त्र कस्तो हुने भन्ने लक्ष्यका साथ महासंघले नेपाल राष्ट्रिय आर्थिक रणनीतिपत्र २०३० (नेट २०३०) सार्वजनिक गरेको र सरकारले समेत यसको अपनत्व लिई सकेकाले त्यसको कार्यान्वयनमा पनि सहयोग खोजेको भेटवार्तामा महासंघकातर्फबाट राखिएको छ । महासंघले नेट २०३० का विषयमा छिट्टै विस्तृतरुपमा जानकारी गराउने पनि अध्यक्ष गोल्छाले सो अवसरमा प्रतिवद्धता जनाएका छन् ।

महासंघसँगको भेटवार्तामा प्रधानमन्त्री देउवाले समग्र उद्योग व्यवसाय र अर्थतन्त्रको कमजोर अवस्थालाई माथि उठाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउँदै निजी क्षेत्रलाई निर्धक्क काम गर्न अनुरोध गरे ।

अर्थमन्त्री शर्माले निजी क्षेत्रलाई खोप लगायत अन्य आवश्यक कार्यमा आफना तर्फबाट सक्दो सहयोग रहने प्रतिवद्धता जनाउँदै निजी क्षेत्रसँग नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाए । अर्थमन्त्री शर्माले महासंघले दिएका सुझावलाई सहयोग गर्ने र आगामी सहकार्यका लागि छिट्टै विस्तृत छलफल गर्ने आफ्नो योजना रहेको पनि बताए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्