काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बलियो अर्थतन्त्र स्थापनाका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षाको खाँचो रहेको बताएका छन् । दक्ष प्राविधिकहरू उत्पादन गर्नसके स्वदेशमा नै स्वरोजगारीको सिर्जना गरी आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्–सिटिइभिटीको ३७ औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उनले सीपयुक्त शिक्षा र प्रविधिको हस्तान्तरणमार्फत दक्ष प्राविधिक उत्पादन गर्नुपर्नेमा जोड दिए । उच्च शिक्षा हासिल गरेका युवा समेत रोजगारीका लागि विदेश गई रहेका उल्लेख गर्दै उनले सैद्धान्तिक शिक्षासँगै व्यावसायिक र प्राविधिक शिक्षा प्रदान गर्नसके यो क्रममा न्यूनीकरण आउने समेत उल्लेख गरे ।
सिटिइभिटीले देशका विभिन्न ग्रामीण क्षेत्रसम्म पुगेर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रदान गर्नु सरहानीय रहेको उल्लेख गर्दै मन्त्री दाहालले तालिम र शिक्षा पाएको जनशक्तिलाई स्वदेशमा नै आत्मनिर्भर र व्यावसायिक बनाउनतर्फ पनि ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा उनले परिषद्का विभिन्न शिक्षालयका विद्यार्थीले प्रयोगात्मक सीपमार्फत निर्माण गरेका विभिन्न सामग्री, उपकरणका स्टलको अवलोकन समेत गरेका छन् । सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थी तथा अवकाशप्राप्त कर्मचारीलाई प्रशंसापत्र प्रदान गरिएको थियो भने मन्त्री दाहालले परिषद्मार्फत प्रकाशित जर्नलको लोकार्पण पनि गरेका छन् ।
परिषद्का सदस्य सचिव महेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरूले परिषद्का लागि समयानुकूल कानून निर्माण गर्न मन्त्री एवं सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्