काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर हुने भएको छ । हेलम्बु गाउँपालिकाको सहयोग तथा मदन भण्डारी मेमोरियल कलेज, धन्वन्तरी आयुर्विज्ञान संस्थान र अन्नपूर्ण टाइम्सको संयुक्त आयोजनामा फागुन ३ गते आराम, आनन्द र आरोग्य भन्ने मूल नाराका साथ स्वास्थ्य शिविर हुन लागेको हो ।
हेलम्बु–७, महाङ्कालस्थित स्वास्थ्य चौकीमा हुने शिविरका लागि काठमाडौंबाट १० बीएएमए, एक विशेषज्ञ चिकित्सक र एक जना फिजियोथेरापिस्ट जाने कार्यक्रम संयोजक डा सुष्मा साउदले जानकारी दिइन् ।
शिविरमा सामान्य स्वास्थ्य जाँचदेखि विभिन्न रोग, जस्तै हाडजोर्नी, नशा, पेटसम्बन्धी समस्या, ग्यास्ट्रिक, पायल्स, फिसर, फिस्टुला, महिनावारी गडबडीसहित विभिन्न रोगको परीक्षण तथा परामर्श प्रदान गरिने उनले बताइन् ।
‘जटिल किसिमका रोगका लागि अस्पताल तथा उपचार विधिबारे परामर्श प्रदान गरिने छ’, उनले भनिन्, ‘स्वास्थ्य शिविरबाट उपलब्ध गराइने सम्पूर्ण सेवा तथा औषधिहरू निशुल्क हुनेछन् ।’ खानपान, जीवनशैली, योग र आरोग्यबारे जनचेतनामूलक सन्देशहरू पनि प्रवाह गरिने डा साउदले बताइन् ।
उनका अनुसार, एक दिने शिविरमा ५ सय जनालाई सेवा दिने लक्ष्य राखिएको छ । शिविरबाट लाभान्वित हुन हेलम्बु गाउँपालिकाले प्रत्येक वडाका बासिन्दालाई सूचित गराइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्