काठमाडौं । आन्तरिक राजस्वतर्फ मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तशुल्क संकलनमा सुधार आएको छ । आयकर संकलनमा भने समस्या देखिएको हो ।
अर्थ मन्त्रालयको तथ्यांक अनुसार चालु वर्षको पहिलो ६ महिनामा अन्तशुल्क शिर्षकमा गतवर्षको तुलनामा २०.८६ प्रतिशत बढि संकलन भएको छ । भ्याटतर्फ १६.९० प्रतिशत प्रगति भएको छ ।
विगत वर्षहरुमा ऋणात्मक देखिएको अन्तशुल्क शिर्षकमा चालु वर्ष निकै सुधार देखिएको छ । चालु वर्ष पोहोरको तुलनामा सुर्तिजन्य पदार्थमा ६.७४ प्रतिशत, मदिरामा २६.६४ प्रतिशत, बियरमा ३८.३१ प्रतिशत अन्य औद्योगिक उत्पादनमा १५.८५ प्रतिशत स्वास्थ्य जोखिम कर स्वदेशी उत्पादनमा २ प्रतिशत र स्वास्थ्यसेवा करमा २११४.४२ प्रतिशतको प्रगति देखिएको छ ।
विगत वर्षहरुमा नक्कली अन्तशुल्कको प्रयोग बढ्दा मदिराजन्य उद्योगबाट कर संकलन घट्दै गएको थिए । यो पटक आन्तरिक राजस्व विभागले नक्कली अन्तशुल्क स्टिकरको प्रयोगमा कडाई गरेको छ । यसकारण यो शिर्षकमा प्रगति देखिएको हो ।
समीक्षा अवधिमा आन्तरिक उत्पादनतर्फ रू.६० अर्ब ८२ करोड ३१ लाख र पैठारीतर्फ रू.२२ अर्ब ५६ करोड ५४ लाख गरी अन्तःशुल्कतर्फ कूल रू.८३ अर्ब ३८ करोड ८५ लाख राजस्व सङ्कलन भएको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा आन्तरिकतर्फको अन्तःशुल्कमा २०.८६ प्रतिशत र पैठारीतर्फको अन्तःशुल्कमा २३.०३ प्रतिशतले वृद्धि भएको छ। यसबाट गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको समग्र अन्त:शुल्क सङ्कलनमा २८.८६ प्रतिशतले वृद्धि भएको छ।
यस्तै भ्याटतर्फ केहि प्रगति देखिएको छ । विगत वर्षहरुमा नक्कली भ्याट बिलको प्रयोगमा गरिएको कारबाहिबाट आशिंक सुधार देखिएको छ । समिक्षा अवधिमा उत्पादनमा १०.५१ प्रतिशतको प्रगति छ । वस्तु बिक्री र वितरणमा १३.८०, परामर्श तथा ठेक्कामा ३.४३ प्रतिशत ऋणात्मक छ । पर्यटन सेवातर्फ ४२.३५ प्रतिशत, संचार सेवा बीमा हवाई उडान र अन्य सेवा संङकलनामा ६३.१ प्रतिशत, बेदर्तावालबाट गर्ने संकलन १.७२ प्रतिशतले ऋणात्मक देखिएको छ । बाडफाँट हुने बाहेक अन्य स्रोतबाट प्राप्त हुने मूल्य अभिवृद्धि कर ५.०२ प्रतिशत वृद्धि देखिएको छ ।
समीक्षा अवधिमा मूल्य अभिवृद्धि कर वापत रू.१ खर्ब ५४ अर्ब ८४ करोड ८६ लाख सङ्कलन भएकोमा आन्तरिकतर्फ रू.६४ अर्ब ७५ करोड ११ लाख र पैठारीतर्फ ९० अर्ब ९ करोड ७५ लाख सङ्कलन भएको छ।
आयकरमा समस्या
भ्याट र अन्तशुल्कमा केहि प्रगति गरेको विभागले आयकरमा भने सुधार गर्न सकेको छैन । समीक्षा अवधिमा आयकरतर्फ रू.१ खर्ब ४१ अर्ब ९३ करोड ८३ लाख सङ्कलन भएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको सङ्कलन रू.१ खर्ब ३६ अर्ब ४ करोड ८७ लाखको तुलनामा ४.३३ प्रतिशतले बढी हो। आयकर अन्तर्गत संस्थागत आयकरतर्फ रू.६० अर्ब ८३ करोड १४ लाख, व्यक्तिगत आयकरतर्फ ५० अर्ब ९९ करोड ७५ लाख र लगानीको आयकरतर्फ रू२७ अर्ब ३७ करोड ७४ लाख सङ्कलन भएको छ।
गत आर्थिक वर्षको यसै अवधिको सङ्कलनको तुलनामा संस्थागत आयकरतर्फको वृद्धि ११.९० प्रतिशतले ऋणात्मक रहेको छ भने व्यक्तिगत आयकरतर्फ २१.१८ प्रतिशत र लगानीको आयकरतर्फ १०.७४ प्रतिशतले सकारात्मक रहेको छ।
संस्थागत आयकरतर्फ सरकारी कम्पनी र पब्लिक लिमिटेड कम्पनीको राजस्व सङ्कलनमा गत आर्थिक वर्षको तुलनामा क्रमशः १८.१५ र ३५.२९ प्रतिशतले कमी आएको छ भने प्राइभेट लिमिटेड कम्पनी र अन्य कम्पनीको आयकर सङ्कलनमा क्रमशः ३६.६७ र ७.९१ प्रतिशतले वृद्धि भएको छ।
गत आर्थिक वर्षको तुलनामा चालु अवधिमा व्यक्तिगत आयकरतर्फको पुँजीगत लाभकरमा ९९.०५ प्रतिशत, एकलौटी व्यवसायमा लाग्ने आयकर ७.८४ प्रतिशत र सामाजिक सुरक्षा करमा २.६७ प्रतिशतले वृद्धि भएको छ भने पारिश्रमिक कर २.१७ प्रतिशतले ऋणात्मक रहेको छ।
यो अवधिमा लगानीतर्फ पुँजीगत लाभ कर-निकाय, अन्य आयमा लाग्ने कर, लाभांशमा लाग्ने कर, सम्पत्ति, बहाल तथा पट्टा वापतको आयमा लाग्ने कर र लगानीको अन्य आयमा लाग्ने कर क्रमशः ६३७.४४, २८.७२, १८.६०, १२.०१ र ५.८६ प्रतिशतले वृद्धि भएको छ भने ब्याजमा लाग्ने कर र लगानीको आकस्मिक लाभमा लाग्ने कर क्रमशः १४.७० र ९९.९७ प्रतिशतले ऋणात्मक रहेका छन्। आन्तरिक राजस्व कार्यालयहरुको अडिटमा खटिएका महालेखा परिक्षक कार्यालयका एक कर्मचारीका अनुसार अहिले कर कार्यालयहरुले आयकरको निरिक्षणलाई कमजोर बनाएका छन् । ती कर्मचारीले सिंहदरबारसँग भने, “आन्तरिक राजस्व तर्फ भ्याटमा केहि सुधार देखिएपनि आयकरमा संकट गहिरिन थालेको छ, मनलाग्दी खर्च कटौतिका कारण समस्या बढ्दै गएको छ, कर कार्यालयहरुले अहिले आयकरलाई निशाना बनाउने गरेको पाएका छौं।”
प्रतिक्रिया दिनुहोस्