काठमाडौं । अर्थ मन्त्रालयले चालु वर्षको बजेटको समिक्षा सुरु गरेको छ । चालु वर्षको ६ महिनाको तथ्यांकलाई लिएर मन्त्रालयले समिक्षा सुरु गरेको हो ।
समिक्षामा चालु वर्षको खर्च र राजस्वको लक्ष्य पुरा नहुने निष्कर्ष अर्थ मन्त्रालयले निकालेको छ । चालु वर्षको बजेट पुर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले तयारी गरेका थिए । यस्तै, पुर्व अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण पढेका थिए । तर बजेट पास गर्ने समयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल आएका छन् ।
मन्त्रालय स्रोतले भन्यो, “माघ अन्तिम हप्तासम्म समिक्षा गर्ने तयारी गरेका छौं, तर चालु वर्षको बजेट खर्च र राजस्व अनुमानको कुनै पनि लक्ष्य पुरा नहुने निष्कर्षमा पुगिसकेका छौं। थप सुधार हुने स्थिति हेरेर संशोधित अनुमान पेश गर्छौं।”
चालु वर्ष १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बजेट खर्च गर्ने लक्ष्य रहेको छ । तत्कालिन अर्थमन्त्री वर्षमान पुनले निकै महत्वकाँक्षी भएर बजेट ल्याएका थिए । सरकारले चालु वर्षको ६ महिना १९ दिन सकिदा ७ खर्ब ८ अर्ब ६९ करोड ९७ लाख खर्च गरेको छ । यो कुल खर्च लक्ष्यको ३८.१ प्रतिशत मात्रै हुन आउछ ।
चालु शिर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख खर्च लक्ष्यमा ४ खर्ब ८६ अर्ब ७५ करोड ५६ लाख खर्च भएको छ । जसमा ४२.६७ प्रतिशत प्रगति छ । यस्तै, पुँजिगत शिर्षकमा चालु वर्ष ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख खर्च गर्ने लक्ष्य छ । अहिलेसम्म यो शिर्षकमा ६३ अर्ब ६ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ । यो शिर्षकमा १७.९ प्रतिशत मात्रै प्रगति भएको छ ।
वित्तीय व्यवस्थातर्फ सरकारले ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख खर्च गर्ने लक्ष्य राखेको छ । जसमा १ खर्ब ५८ अर्ब ८७ करोड ८७ लाख खर्च भएको छ । यो शिर्षकमा ४३.२६ प्रतिशत प्रगति छ ।
राजस्वतर्फ पनि सरकार चालु वर्ष १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । हालसम्म यो शिर्षकमा ५ खर्ब ९७ अर्ब ३५ करोड ७० लाख राजस्व संकलन भएको छ । जसमा कुल प्रगति ४२.०९ प्रतिशत छ ।
सरकारको राजस्व संकलन गर्ने २ मुख्य निकाय भन्सार विभाग र आन्तरिम राजस्व विभाग लक्ष्यको तुलनामा निकै पछि परिसकेका छन् । अर्थमन्त्री पौडेलले जसरी पनि लक्ष्य अनुसार नै राजस्व संकलन हुनुपर्ने अडान राखिरहेका छन् । यद्यपी मन्त्रालयको टीमले भने कुनै पनि हालतमा लक्ष्य पुरा नहुने निष्कर्ष निकालि सकेको छ ।
प्रतिक्रिया दिनुहोस्