काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक (सीओआरबीएल) को सेयर ब्रोकर नम्बर ५८ ले बिक्री गरेको छ । पछिल्लो कारोबार दिनहरुमा ब्रोकर नम्बर ५८ ले कर्पोरेटको सेयर बिक्री गरेको हो ।
ब्रोकर नम्बर ५८ ले ६६ हजार १ सय ८५ कित्ता सेयर बेचेको छ । ती सबै सेयरहरु ब्रोकर नम्बर ७१ र ७२ ले खरिद गरेको छ । ब्रोकर नम्बर ७१ र ७२ ले कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य बढाउन लागि परेका छन् । थोरै मार्केट क्यापिटालाइजेसनको फाइदा उठाउँदै सिमित व्यक्तिहरुले मूल्य बढाएका हुन् ।
कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर ब्रोकर ७२ ले केहि दिनमै १ लाख ६ हजार कित्ता बढाएको छ । यो ब्रोकरसँग २ लाख २६ हजार कित्ता सेयर रहेकोमाबढेर ३ लाख ३२ हजार २३ कित्ता पुगेको छ । त्यस्तै ब्रोकर ७१ ले पनि कर्पोरेटको सेयर होल्ड बढाएको छ । यो ब्रोकरले ९ हजार ५ सय ५ कित्ता थपेर ७४ हजार ९ सय ९१ कित्ता पुर्याएको हो ।
वित्तिय अवस्था कमजोर रहेको कम्पनीमा पनि लगातार सर्कुलर ट्रेडिङ भैरहँदा नियमक निकायले कुनै गतिविधि अघि बढाएको छैन । विगत १० वर्षमा एक पटक मात्रै लाभांश दिएको कर्पोरेट डेभलपमेन्टको सेयर आइतबार (माघ २० गते) २२ सय ७१ रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तो छ कम्पनीको वित्तीय अवस्था
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्न सकेको छैन । कम्पनीको चालू आव ०८१/०८२ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको नाफा १ करोड ७ लाख ३९ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पूँजी ५२ करोड ५० लाख रहेको छ । बैंकको चालु आव ६ महिनामा खुद ब्याज आम्दानी २ करोड ३४ लाख ३१ हजार रहेको छ । बैंकले गत आव सो अवधिमा भने खुद ब्याज आम्दानी ४ करोड ६८ लाख ४ हजार रहेको थियो ।
पुस मसान्तसम्मा बैंकको सञ्चालन नाफा १ करोड ४७ लाख ५६ हजार रहेको छ भने सो अवधिमा निक्षेप संकलन १ अर्ब ८५ करोड ६९ लाख रहेको छ । ६ महिनामा कम्पनीको कुल सम्पत्ति २ अर्ब ६५ करोड २६ लाख ५३ हजार रहेको छ भने कर्जा लगानी १ अर्ब ३४ करोड १८ लाख ७५ हजार रहेको छ ।
सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४.०९ रहेको छ भने बैंकको नेटवर्थ १ सय ४८.७२ रुपैयाँ रहेको छ । पुस मसान्तसम्मा बैंकको कष्ट अफ फण्ड ७.१७ प्रतिशत रहेको छ । २०८१ साउन ३१ गते सेयर बजार ३ हजारको बिन्दुमा पुग्दा बैंकको सेयर मूल्य जम्मा ६ सय ७५ रुपैयाँ रहेको थियो । त्यसपछि जब सेयर बजार घटेर २४ सयको बिन्दुमा आयो त्यसपछि कम्पनीको सेयर मूल्यमा बढेर प्रतिकित्ता २ हजार ५ सय ८० रुपैयाँ पुगेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले बैंकले वित्तिय अनुसासन पालना नगरेको भन्दै पटक पटक कारबाहि समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्