काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथमा सेवा दिँदै आएको महानगर यातायात प्रालिले ४० वटा नयाँ बस थपेको छ । विगत ९ वर्षदेखि ठूला बसहरूमार्फत् सेवा दिँदै आएको यस यातायात कम्पनीले यात्रुको सेवालाई मध्यनजर गर्दै ४० वटा नयाँ बस थप गरेको हो ।
कम्पनीले टाटा मोटर्सका ४० वटा बस बिहीबारदेखि सञ्चालनमा ल्याउने भएको हो । कम्पनीले ४० वटा बस थपसँगै नयाँ रुट पनि सञ्चालन गर्ने जानकारी दिएको छ ।
हाल यस यातायातले ५० वटा बसबाट सेवा दिँदै आएको छ । सर्वसाधारणले सार्वजनिक यातायातमा खेप्नु परेको सास्ती न्यून गर्न अत्याधुनिक सुविधायुक्त ४० वटा बसले सेवा दिन लागेको कम्पनीका अध्यक्ष मधुसुदन उपाध्याय अधिकारीले जानकारी दिए ।
यात्रुलाई सुरक्षित, आनन्ददायी र मनोरन्जनात्मक यात्रा गराउन महानगर यातायात प्रालिले २०७२ मा चक्रपथमा बस सेवा सुरु गरेको थियो । अब त्यसलाई बिस्तार गर्ने योजना कम्पनीले बनाएको हो । सुरुमा १६ करोड लगानीमा ४० वटा बस सञ्चालन गरेको यस कमपनीले त्यसपछि १० वटा बस थपेको थियो । अब कम्पनीको कुल बस संख्या ९० हुने कम्पनीले जनाएको छ ।
४० सिट क्षमताको महानगर यातायात ठूलो र सुविधायुक्त छ । बसमा जीपीएस ट्रयाकिङ सिस्टमसहित मोबाइल एप सुविधा पनि दिइएको छ । सो सुविधामार्फत् बस कहाँ छ भनेर मोबाइलमै हेर्न सकिने व्यवस्था पनि गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्