काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाहरुमा ब्याजमा लगाउँने भएको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै राष्ट्र स्तरका बैंक तथा वित्तीय संस्थाहरुमा २ अर्ब ५५ करोड रुपैयाँ ब्याजमा लगाउँने जनाएको हो ।
बैंकले राष्ट्र स्तरको ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ४० करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ३५ करोड २५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा १२ करोड ७५ लाख रुपैयाँ मुद्दती निक्षेपका रूपमा लगानी गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।
२०८१ माघ ६ गतेदेखि २०८२ माघ ६ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपको रुपमा लिन चाहेको रकम खुलाई माघ २ गते ब्याजदर प्रस्ताव गर्न बैंकले आह्वान गरेको छ ।
उक्त निक्षेप लिन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको हुनुपर्ने बैंकले जनाएको छ ।
त्यस्तै, निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको, खुद तरल सम्पत्ति बैंकले तोकेको न्युनतम सीमा कायम गरेको र कर्जा निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको बैंकहरुमा लगानी गर्ने राष्ट्र बैंकले सूचना मार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्