काठमाडौं । फासफुस जाने भनिएको पुस नसकिँदै राजनीतिक सरगर्मी बढ्न थालेको छ । सत्ता परिवर्तनको रापले माघ महिना आरम्भ नहुँदै राजनीतिको पारो तताउने स्पष्ट भैसकेको छ । संबिधान संसोधन र राजनीतिक स्थायीत्वको नारा दिएर तयार भएको काँग्रेस–एमाले गठबन्धनमा ठूलै भ्वाङ परिसकेको बुझ्न कठिन छैन् । केन्द्रिय समितिको बैठकबाटै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले संबिधान संसोधनको मिति २०८७ साल हो भनिदिए भने काँग्रेस नेताहरुले नै यो सरकारको औचित्य सकियो भन्न थालिसकेका छन् ।
त्यसो त शहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रबि लामिछाने धरौटीमा रिहा भएका छन् । उता, प्रचण्ड र माधव नेपालबीच निरन्तर औपचारिक संवाद जारी छ र त्यसमा राप्रपा सभापति राजेन्द्र लिङदेन पनि मिसिएका छन् । उता, लिङदेनले काँग्रेस सभापति शेर बहादुर देउवासँग पनि भेटिसकेका छन् ।
काँग्रेस सभापति शेर बहादुर देउवाले डा. प्रकाश शरण महतलाई अघि सारेर राजनीतिक वार्ता गरिरहेका छन् भने प्रचण्डले आफ्नी छोरी गंगा दाहाल मार्फत पहिलो चरणको संवाद गरेका थिए । अहिले भने शिर्ष नेताहरु नै संवादमा देखिन्छन् । उता, रास्वपाका कार्यवाहक सभापति डिपी अर्यालले पनि यसबिचमा काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पटक पटक संवाद गरेका छन् । राप्रपा अध्यक्ष लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि पार्टी एकताका लागि प्रयास गरेकै छन् ।
मधेशवादी बिभिन्न दलहरुबीच पनि सहकार्यका लागि निरन्तर छलफल चलिरहेको छ । एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा काम गर्नै मुस्किल भएको रिपोर्टिङ काँग्रेस मन्त्रीहरुले नै गरिरहेका छन् ।
बिआरआईपछि गठबन्धनमा दरार
चिनसँग बिआरआई सम्झौतामा हस्ताक्षर गरेपछि नै काँग्रेस–एमाले गठबन्धनमा दरार उत्पन्न भैसकेको थियो । बिआरआई सम्झौतापछि अमेरिकाले काँग्रेस माथि दबाव बढाएको छ भने भारतले पनि काँग्रेस–माओवादीसहितको गठबन्धनका पक्षमा लाग्न दबाव दिईरहेको स्रोतहरुको दावी छ । त्यसो त चिनियाँ पक्षले एमाले, माओवादी, एकिकृत समाजवादीहरुको बृहत बाम गठबन्धनका पक्षमा लबिङ गरिरहेको देखिन्छ ।
देउवा की नेपाल ?
ओली सरकार ढल्दा प्रधानमन्त्री बन्ने पालो काँग्रेस सभापति शेर बहादुर देउवा वा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालमध्ये एकको हुने देखिन्छ । २०७९ को चुनावी गठबन्धनका समयमै माधव नेपाललाई डेढ बर्ष प्रधानमन्त्री बनाउने सहमति भएको थियो तर त्यसपछि एमाले–माओवादी गठबन्धन सरकार, काँग्रेस–माओवादी गठबन्धन सरकार र पुन: एमाले–माओवादी गठबन्धन सरकार हुँदै अहिले काँग्रेस–एमाले गठबन्धन सरकार बनिसकेको छ । तर पनि माधव नेपाललाई प्रधानमन्त्री बनाउने जुक्ति खोज्न भने देउवा र प्रचण्ड नै सहमत देखिन्छन् । यद्यपी, काँग्रेस भित्रै देउवाको साटो शेखर कोइरालालाई प्रधानमन्त्री बनाउन दबाव बढिरहेको छ । तथापी कोइरालासँग संसदिय दलको नेता बन्न पुग्ने सांसद संख्या भने छैन् ।
नयाँ गठबन्धनमा को को ?
काँग्रेस–एमाले गठबन्धन भत्किएर बन्ने नयाँ गठबन्धनमा एमाले बाहेकका अधिकांश राजनीतिक दलहरु सहभागी हुने अवस्था देखिन्छ । त्यसमा काँग्रेस, माओवादी, एकिकृत समाजवादी, राप्रपा र रास्वपा समेत रहनेछन् । त्यस बाहेक उपेन्द्र यादव, सिके राउत, अशोक राई र महन्थ ठाकुरहरु समेत सो गठबन्धनमा आउने देखिन्छ ।
मिसन माघ १५ !
बिभिन्न राजनितिक दलका उच्च पदस्थ अधिकारीहरुले माघ १५ अगावै ओली सरकार ढल्ने ठोकुवा गरिरहेका छन् । ‘यो सरकारको आयु माघ १५ अघि नै सकिन्छ, त्यसपछि २०७९ को चुनावी गठबन्धनमा आवद्ध दलहरुको सरकार बन्नेछ, जसमा रास्वपा, राप्रपा र उपेन्द्र यादवहरु पनि सहभागी हुनेछन् ।’, उच्च स्रोतले भन्यो । त्यसो त प्रधानमन्त्री ओलीले पनि गठबन्धनमा ‘सब ठिक ठाक नरहेको’ संकेत पाईसकेका छन् । ओलीले शुक्रबार मात्रै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग भेट गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्