काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आगामी वर्षदेखि आँखाको उपचारमा जोडिएको चश्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल नेत्रज्योति संघको केन्द्रिय सभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले चश्मा फेसन र आँखा उपचारसँग गरी दुई किसिमबाट जोडिने भएको उल्लेख गर्दै उपचारसँग सम्बन्धित चश्माको भ्याट र भन्सार नलाग्ने व्यवस्था आगामी वर्षदेखि गर्ने घोषणा गरेका छन् ।
उनले उपचारात्मक सन्दर्भमा बाहिरबाट आउने सहयोग र किनेर ल्याउने सामग्रीहरुको भन्सार छुट गर्ने व्यवस्था रहेको बताए । आँखाको उपचार सम्बन्धी उपकरण थप गर्ने र भौतिक पूर्वाधार व्यवस्थित गर्ने सन्दर्भमा सबै मिलेर काम गर्नुपर्ने जानकारी दिए ।
मन्त्री पौडेलले आँखा उपचारका लागि नीतिगत क्षेत्रको सुधार गर्न सरकार तयार रहेको जानकारी दिए । उनले आँखा उपचारका लागि नीतिगत पक्षबाट प्रभावकारी बनाउन सरकार लागिपरेको बताए ।
प्रतिक्रिया दिनुहोस्